बूढानीलकण्ठ, ज्येष्ठ १७ । नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को लागी बूढानीलकण्ठ नगरपालिकामा ५८ करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
शनिबार सार्वजनिक गरीएको नयाँ बजेटमा बूढानीलकण्ठ नगरपालिकाको निति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि संघ सरकारबाट चालु खर्च ५० करोड ३६ लाख र पूँजीगततर्फ ७ करोड ६६ लाख निर्धारण भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नु भएको प्रतिवेदन अनुसार वित्तीय समानीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।
जसमध्य बूढानीलकण्ठ नगरपालिकामा वित्तिय समानीकरण अनुदान शिर्षकमा २७ करोड ८३ लाख रहेको छ । यस शिर्षक अन्तर्गत ‘न्युनतम अनुदान’ ५ करोड , ‘सुत्रमा आधारीत अनुदान’ २२ करोड ३५ लाख , ‘कार्य सम्पादनमा आधारीत अनुदान’ ४८ लाख रहेको छ ।
यस्तै सशर्त अनुदानको चालु खर्च २२ करोड ५३ लाख र पुँजीगत खर्च ६ करोड गरी कुल २७ करोड ५३ लाख छुट्याइएको छ ।
सरकारले २०७८\७९ को लागि थप शिर्षक विशेष अनुदान मार्फत पनि बजेट निर्धारण भएको छ । विशेष अनुदान को पुँजिगत खर्चमा १ करोड ६६ लाख राखिएको छ ।
बूढानीलकण्ठ नगरपालिकामा चालु आर्थिक वर्ष २०७७\७८ लागि सरकारबाट ५६ करोड १३ लाख विनियोजन भएको थियो जस अन्तर्गत समानीकरण अनुदानमा २६ करोड ३ लाख र सशर्त अनुदान ३० करोड १० लाख रहेको थियो । आगामी वर्षका लागि सार्वजनिक भएको बजेट अघिल्लो वर्षभन्दा १ करोड ८९ लाखले बढी हो ।
आर्थिक बर्ष २०७८\७९ को बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।