बूढानीलकण्ठ , जेष्ठ ०६ गते । बूढानीलकण्ठ नगरपालिकामा निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ ।
नगरपालिका कोभिड विपद व्यवस्थापन टिम (MCCMT) को बुधबार बसेको बैठकबाट कार्यन्वयन गर्नै पर्ने ८ महत्वपुर्ण निर्णयहरु मध्य बुँदा नं २,३ र ४ मा निषेधाज्ञालाई थप कडाई गर्न र नगरपालिकाको मुख्य बजार मिलन चोक, नारायण चोक र बालुवाखानीको तरकारी बजार लाई व्यवस्थित गरी भिडभाड कम गराउन सुरक्षाकर्मी परिचालनको लागी निर्देशन दिएको छ ।
बैठकमा भएको निर्णयहरु कार्यन्वयन र समन्वय गर्न MCCMT ले वडा समिति, सुरक्षाकर्मी र स्थानीय समुदाय लगायत सम्बन्थित सबै पक्षलाई संक्रमण नहुने गरी विकल्प व्यवस्था गर्न र भिडभाड नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
MCCMT को निर्णयहरुः
१. बूढानीलकण्ठ नगरपालिकाको कोभिड १९ जोखिम व्यवस्थापन समिति बैठकमा नगरपालिकाले कोभिड महामारी नियन्त्रण र रोकथामको लागि गरेका विभिन्न कार्यहरु कोभिड संक्रमण सम्बन्धी तथ्याङ्कहरुको जानकारी, आइसोलेसन सञ्चालन व्यवस्थापन, संक्रमण न्यूनीकरण र रोकथामका लागि CICI कार्य, Tracing Counselling नगरपालिकाले निर्माण गरेका विभिन्न समूह र संरचना निर्माण र सञ्चालन सम्बन्धमा जानकारी गराउने कार्य भयो ।
२ जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ बाट जारी मिति २०७८०२१३ सम्मको निषेधाज्ञा अझ कडाइका साथ कार्यान्वयन गर्ने गराउने निर्णय गरियो ।
३. यस नगरपालिका अन्तर्गतका मंदिरा सेवन विक्रिवितरण गर्ने होटल तथा पसलहरु कडाइका साथ बन्द गर्ने / गराउने निर्णय गरियो।
४. यस नगरपालिकाको मिलन चोक, नारायण चोक र बालुवाखानीको तरकारी बजारमा निश्चित क्षेत्र तोकी गाडा राख्न नदिने र गाडा भेटिएमा राख्ने व्यवस्था मिलाउने । यसको लागि वडा समिति, सुरक्षाकर्मी र स्थानीय समुदायको समन्वयमा संक्रमण नहुने गरी विकल्प व्यवस्था गरी भिडभाड नियन्त्रणको व्यवस्था मिलाउने निर्णय गरियो ।
५ निर्माण सम्बन्धी कार्यको सम्बन्धमा निर्माणस्थलमा नै कामदार रहने गरी मात्र विकास निर्माण कार्य गर्न दिने निर्णय गरियो ।
६. यस नगरपालिका अन्तर्गत स्थानीय जात्रा पर्व मनाउने सम्बन्धमा मिति २०७८-०२-०४ को गुठी प्रतिनिधीहरुसंग भएको निर्णयानुसार गर्ने गराउने निर्णय गरियो ।
७. यस नगरपालिकाको वडा न १० डिट्ठाचौरमा रहेको हालको Isolation Centre मा OPD सेवा सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिने निर्णय गरियो ।
८. कोभिंड-१९ रोकथाम, नियन्त्रणका लागि थप प्रचारप्रसार थप व्यवस्थित गर्ने निर्णय गरियो ।