बूढानीलकण्ठ जेष्ठ ०४ गते ।
बूढानीलकण्ठ नगरपालिकामा मनाईने मुख्य चाड तथा स्थानीय पर्व नौलिन भद्रकालि जात्रा सञ्चालन सम्बन्धमा मंगलबार गुठियारहरुसंग छलफल बैठक बसेको छ ।
नगरपालिकामा परापुर्वकाल देखिनै मनाईँदै आएको मुख्य चाड ‘नौलिन भद्रकालि जात्रा’ सञ्चालन गर्दा कोभिड-१९ महामारीले निमम्ताएको निषेधाज्ञाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संक्रमण दर न्युनिकरण गर्न जात्रा सञ्चालन गर्दा हुने भिडभाड जस्ता स्वास्थ्य मापदण्ड विपरितको कार्यहरु कम गर्नका लागि बैठक बसिएको हो ।
नगरप्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सबैको निर्णयबाट १७ बुँदे मापदण्ड तयार पारिएको छ । तयार भएको मापदण्डहरु कडाईका साथ कार्यन्वयन गर्न र गराउन सम्बन्धित सबैलाई नगरप्रमुखले निर्देशन दिनु भएको छ ।
निर्णय भएका मापदण्डहरुः
१. गुठियारहरुलाई आ-आफ्नो तरिकाबाट परम्परा अनुसार नित्य पुजा गर्न दिने ।
२. बाजा गाजा कुनै पनि बजाउन नपाइने ।
३. रथ जात्रा नगर्ने ।
४.सिन्दुर जात्रा नगर्ने ।
५. बली चढाउन वा काटमार गर्न नपाउने ।
६. नौलिन भद्रकाली मन्दिरको गेट बन्द गर्ने ।
७. पाहुना बोलाउन नपाइने ।
८. बाह्य व्यक्तिहरु कसैलाई पनि आवतजावत गर्न नदिने ।
९. लक डाउनको नियम पुर्ण रुपमा पालना गराउने ।
१० पुजा गुठियारहरुले भगवान ल्याउने र लाने बेला आ-आफ्नो झ्याल र कौशीबाट मात्र पुजा गर्ने ।
११. क्षमा पुजा गरी मिल्छ भने जात्राको दिन छोट्याउने ।
१२. जात्रा आ-आफ्नो घरमा परिवारसँग मात्र बसेर मिठो नमिठो जे छ त्यही खाएर समापन गर्ने ।
१३. समन्वयको लागि प्रहरी र स्वयम् सेवक परिचालन गर्ने र उक्त कार्यको लागि माईकिङ्ग समेत गराउने
१४. मिति २०७८ | ०२।०५ देखि जात्रा हुने सबै मठ मन्दिर बन्द गर्ने गराउने
१५. मुल गुठी पुजामा बढिमा २ वटा सम्म बाजा बजाउने ।
१६. सामुहिक भोजभत्तेर नगर्ने ।
१७. उल्लेखित कार्यहरु गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।
आज बसेको बैठकमा नगरप्रमुख उद्धव प्रसाद खरेल, नगर सल्लाहकार सुन्दर पुर्कुटि, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि, वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का, वडा नं ०३ अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नं ०६ अध्यक्ष नविन के.सी., वडा नं ०७ सदस्य रमा माया महर्जन, वडा नं १० सदस्य तथा भैरव गुठी प्रतिनिधि चन्द्रमान श्रेष्ठ, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १३ अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, कपन प्रहरी नायव निरिक्षक अर्जुन गिरि, प्रहरी प्रभाग बूढानीलकण्ठ निरिक्षक राजकुमार तामाङ , नौलिन भद्रकालि गुठि प्रतिनिधि अभिशेक श्रेष्ठ, गणेश गुठि प्रनितिधी मानकाजि श्रेष्ठ, पञ्चकन्या गुठि प्रनितिधि गौराज श्रेष्ठ, भद्रकालि गुठि प्रनितिधी मंगल दास श्रेष्ठ, वनदेवि समिति प्रनितिधी राजकुमार नगरकोटि लगायत नगर भित्र रहेका विभिन्न गुठिहरुको उपस्थिति रहेको थियो ।