नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ । नेपालमा बीमा समितिबाट वि.सं. २०६९ माघ १ गते देखि औपचारिक रुपमा बाली तथा पशुुपन्छी बीमा निर्देशिका, २०६९ जारी भई “बाली तथा पशुपंन्छी बीमा” को शुरुवात भएको थियो ।
वि.सं. २०७० साउन १ गते देखि नेपाल सरकारले बाली तथा पशुपंक्षी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले २०७१ साउन १ गते बीमा शुल्कको ७५ प्रतिशत दिएको छ । मानौ १ उन्नत जातको गाईको मूल्य एक लाख पर्छ । बीमा समितिको नियम अनुसार ५ प्रतिशतका दरले बीमा प्रिमियम ५ हजार लाग्छ । सरकारी अनुदान ७५ प्रतिशतका दरले ३ हजार ७५० रुपैयाँ पाइन्छ । कृषकले व्यहोर्ने २५ प्रतिशतका दरले १ हजार २५० रुपैयाँ बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्छ । १ हजार २५० रुपैयाँमा कृषकको १ लाख रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीले गर्न सक्दछ । साथै, १०० रुपैयाँमा बीमितको दुर्घटना बीमा २ लाख रुपैयाँको हुन्छ । बीचामा पशु तथा बाली बिक्री गर्नु परेमा बीमालेखको हस्तान्तरण गर्न सकिन्छ ।
बाली तथा पशुुपन्छी बीमाले आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान/खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी-नोक्सानीको जोखिम सुरक्षण गर्छ । समितिले २०६९ देखि लागु गरेको “बाली तथा पशुपन्छी बीमा” संगै कृषकको माग समेतका आधारमा नेपाल सरकार कृषि मन्त्रालय समेतको प्राविधिक सहयोगमा बिभिन्न बीमालेखहरु जारी गर्दै अएको छ । बिगतमा लागतमा आधारित बीमालेखहरु जारी गर्ने गरेकोमा हाल उत्पादनमा आधारित बीमालेखहरु जारी गर्ने गरेको छ ।
क्षतिपूर्ति नहुने अवस्था शर्तहरुः
समितिबाट जारी बीमालेखका अनुसार बीमितले बाली तथा पशुपंक्षी बीमा गरेको भएता पनि विभिन्न क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ती गर्न नसक्ने व्यवस्था रहेको छ । कानूनी निकायको आदेशमा नष्ट गर्नुपर्ने भएमा, हराएमा वा चोरी भएमा, झुठ्ठा विवरण दिएमा, क्षमता भन्दा बढी पालन गरेमा, बर्डफ्लुको कारणबाट मरेमा (कुखुरा), अन्य प्रयोजनमा प्रयोग गरेमा (पशु), युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमित पन्छी/पशु/माछा/बालीको हानी नोक्सानी भएमा बीमा क्षतिपूर्ति हुँदैन ।
कसरी दावी माग गर्ने ?
बाली तथा पशुपंक्षी बीमा अन्तर्गत बीमा गरिएको सम्पत्तिको क्षति भएको बीमा लेखमा तोकिएको समया वधिभित्र बीमितले बीमा कम्पनीलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । पन्छीे मरेमा दुई दिनभित्र, बालीको क्षति हानी-नोक्सानी भएमा तीन दिनभित्र, पशुधनको मृत्यु भएमा तीन दिनभित्र, माछा मरेमा दुई दिनभित्र बीमकलाई जानकारी दिनुपर्छ । जानकारी दिएको ४८ घण्टाभित्र बीमकले निरीक्षण गर्न सक्नेछ तर, क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पुर्याउने छैन ।
बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितकोे बाली तथा पशुुपन्छिमा हानी भएमा सोको १५ दिनभित्र वा सो अवधिभित्र सम्भव नभएमा सोको कारण सहित संभव हुनासाथ यदि बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिएको भए बैङ्क वा सदस्य संस्था मार्फत अन्यथा बीमितको तर्फ सक्कल बीमालेख, (आंशिक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति), पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित बाली तथा पशुपंक्षी बीमा अकिर्ता (प्राविधिक) को प्रतिवेदन, सम्बन्धित गा.पा वा न.पा.वा नजिकको २ जना छिमेकिको सर्जमिन मुचुल्का, अध्यावधिक अभिलेख (माछा र पन्छी को हकमा), सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्धारा प्रमाणित गरिएको प्रमाण-पत्र(माछाको हकमा), आवश्यकता अनुुसार फोटो, प्राविधिकबाट उपचार गराएको कागजातसहित क्षतिपूर्ति माग गर्नुपर्छ ।
(चापागाईं बिमा समितिका पुर्व अध्यक्ष हुन् )