बुढानीलकण्ठ, श्रावण ४ – बुढानीलकण्ठ नगरपालिका वडा नं. ०३ घुम्ती स्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा (Eye OPD) आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्नुभयो।
नयाँ सुरु गरिएको यो नेत्र सेवा प्रत्येक मंगलबार दिउँसो ११ बजे देखि १ बजे सम्म नियमित रूपमा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद गरेको छ भने ह्याम्स हस्पिटलले नेत्र विशेषज्ञ चिकित्सक उपलब्ध गराई नियमित जाँच तथा उपचार सेवामा सहयोग गर्ने भएको छ।
नेत्र OPD मार्फत प्रवाह हुने प्रमुख सेवाहरूमा निम्न रहेका छन्:
दृष्टि परीक्षण (Eye Vision Test)
आँखाको सामान्य रोगहरूको प्रारम्भिक जाँच र उपचार
मोतिबिन्दु (Cataract) पहिचान तथा परामर्श
आँखामा संक्रमण (जस्तै रातो हुने, पोल्ने आदि) को उपचार
आवश्यक परेमा उच्च सेवा केन्द्रमा रिफर गर्ने व्यवस्था
उद्घाटन समारोहमा नगर प्रमुख मिठाराम अधिकारीसँगै उपप्रमुख अनिता लामा, वडा नं. ०३ अध्यक्ष आकाश धिताल, वडा सदस्य बिकास लामा, बालमाया श्रेष्ठ, नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, ह्याम्स अस्पतालका निर्देशक विनोद ढुङ्गाना, नेत्र चिकित्सक डा. अर्चना पोखरेल, जनस्वास्थ्य निरीक्षक जीवन खतिवडा, स्वास्थ्य चौकी इञ्चार्ज तथा अन्य स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले भन्नुभयो, “हामीले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्य लिएका छौं। स्थानीय तहमै आँखाको जाँच तथा परामर्श सेवा उपलब्ध गराउनु हाम्रो प्रतिबद्धताको एउटा हिस्सा हो। यस सेवाबाट विशेषगरी वृद्धवृद्धा तथा बिद्यार्थी वर्गलाई धेरै लाभ हुनेछ भन्ने विश्वास छ।”
कार्यक्रमको विशेष आकर्षणको रूपमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले समेत नेत्र विशेषज्ञ डा. अर्चना पोखरेलबाट आँखाको जाँच गराउनुभएको थियो। यसले सेवा प्रति उनीहरूको विश्वास र प्रेरणा दुवै झल्काएको थियो।
उक्त सेवा सुरु भएसँगै स्थानीय बासिन्दाहरूले आँखासम्बन्धी प्रारम्भिक जाँच तथा परामर्श सेवा वडा स्तरमै सहज रूपमा पाउने भएकाले ठूलो राहत हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजान विभिन्न नयाँ कार्यक्रम र सेवाहरू सञ्चालन गर्दै आएको सन्दर्भमा यो नेत्र सेवा पनि एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।