कोरोना संक्रमण संख्या उपत्यकामा बढेसँगै उपत्यकाभित्र रहेका स्थानिय तहहरुमा त्रास उत्तिकै बढ्दै गएको छ। उपत्यकाका नगरपालिकाहरुमध्ये जनसंख्याको हिसाबमा धेरै रहेको बूढानीलकण्ठ नगरपालिकामा समेत कोरोना संक्रमणको संख्या बढ्दो अवस्थामा रहेको छ र हालसम्मको तथ्याङ्क अनुरुप नगरपालिकामा २३६ कोरोना संक्रमित भेटिसकेका छन्।

हाल संक्रमित संख्याले उपत्यकामा उग्र रुप लिए सँगै सिमित रहेका अस्पतालहरुमा समेत स्थान नरहेका कारण प्रायजसो संक्रमितहरु होम आइसोलेसनमै बस्नका लागि बाध्य भएका छन्। सो समस्या बूढानीलकण्ठ नगरपालिकामा समेत रहेको छ। कुल संक्रमित मध्ये हाल १२० जना संक्रमितहरु अस्पतालमा स्थान नभएपश्चात् घरमै आइसोलेसनमा बस्नुपर्ने बाध्यतामा रहेका छन्। कुल संक्रमित मध्ये ५० महिला र ७० पुरुष गरि १२० जना सेल्फ होम आइसोलेसनमा रहेको जानकारी नगरपालिकाबाट प्राप्त भएको छ। होम आइसोलेसनमा रहेका नगरपालिका भित्रका कोरोना संक्रमितहरुलाई यस रोगलाई परास्त गर्नका लागि हौसला प्रदान गर्ने उद्देश्य स्वरुप बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल कोरोना संक्रमितका घरघरमा पुग्नुभएको छ।

विभिन्न संस्थाहरुको समन्वयमा प्राप्त भएका स्वास्थ्य सामाग्री वितरण गर्नका लागि नगर प्रमुख खरेल बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेका संक्रमितहरुको घरघरमा पुगी उहाँहरुको स्वास्थ्य स्थितिका बारेमा जानकारी समेत लिनुभएको छ।

जनता बिना नगर प्रमुख केहि होइन भन्दै नगरवासीको स्वास्थ्य सुरक्षाका निमित्त हामी लागि हरेक सम्भव प्रयासहरुमा नगरपालिका जुटेका छौँ भन्दै स्वास्थ्य एवं अन्य कुनै पनि समस्या आएको खण्डमा नगरपालिकालाई जानकारी गराउन समेत प्रमुखले सबै नगरवासीमा आग्रह गर्नुभएको छ। आज बू.न.पा वडा २ का संक्रमितहरुलाई भेट्न घरघरमा पुगेका प्रमुख खरेलका साथमा वडाका अध्यक्ष राजेन्द्र खड्का, राजेन्द्र श्रेष्ठ र ज्ञानु कार्की थापा समेत संक्रमितहरुका लागि हौसला प्रदान गर्नका लागि पुग्नुभएको थियो।

नेपालमा कोरोना संक्रमित पुष्टि भएपश्चात् सो व्यक्तिहरु माथि समाजमा अपहेलना र सामाजिक दुर्व्यवहार गरिएको पाइएको छ। कोरोनाको संक्रमणकै कारण शारिरिक समस्यामा रहेका तिनै व्यक्तिहरुलाई विभिन्न व्यक्तिहरुद्वारा गरिने हेलाकै कारण मानसिक स्वास्थ्यमा समेत असर भएको पाइएको छ। सो हेलाको क्रमलाई समेत रोकिनुपर्ने र नागरिकहरुमा आफु सचेत रहि कोरोना संक्रमित भएकाहरुलाई हेला होइन कि हालको समयमा झन् सामाजिक सद्भाव, हौसला र प्रोत्साहनलाई कायम गर्नुपर्ने भन्दै नगरपालिका जनप्रतिनिधिहरुले सबै नगरवासीमा अनुरोध गर्नुभएको छ।

कोरोना संक्रमितहरुका लागि हौसला स्वरुप घरघरमै जाने कार्य आजदेखि शुरु गरिएको र प्रत्येक वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुसम्म प्रत्येक वडाका जनप्रतिनिधि तथा नगर प्रमुख पुग्ने प्रमुख खरेलले बताउनुभएको छ। साथै उक्त स्वास्थ्य सामाग्रिहरु सोहि वडाका जनप्रतिनिधिहरुद्वारा सबै संक्रमितहरुलाई वितरण गरिएको हो।

नेपालमा कोरोनाको संक्रमण देखिएता पनि यस रोगको लक्षण भने कमैमा मात्र देखिएको पाइएको छ। त्यस्तै बूढानीलकण्ठ नगरपालिकामा पनि कोरोना लक्षण नभएका संक्रमितहरु मध्ये अधिकांस बिरामीहरु आफ्नै घरमा स्वास्थ्यको मापदण्ड अपनाई सुरक्षित आईसोलेसनमा बसेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय