काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाले बजारमा हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकता दिएको छ।
बूढानीलकण्ठको मूल सडकको दुवै तिर वृक्षरोपण गरिएको छ। यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित खरेलले जानकारी दिए। नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा फोहर उत्पादन घटाउनका लागि परियोजना पनि सञ्चालन गरेको छ।
यस्तै शिक्षासम्बन्धी काम नगरपालिकाबाट गर्न शैक्षिक तथ्यांक संकलन भइरहेको छ। नगरपालिकाले १३ वटै वडाका वडा कार्यालय पनि स्थापना गरेको छ। यसअघि छ वटा वडामा मात्र कार्यालय थियो।
सुस्मितका अनुसार संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई उपयोग गर्नका लागि विभिन्न विभिन्न योजना बनाइएको छ। नगरपालिकाले गत वर्षभन्दा ३ प्रतिशत चालु खर्च कम गरेको छ। गत वर्ष २८ प्रतिशत रहेको चालुखर्च अहिले २५ मा झारिएको छ।
यसैगरी वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडामा ढल निर्माण र बाटो मर्मतलाई प्राथमिकता दिइएको बताए।
नगरको नवजागरण टोलस्थित आकाशेधारादेखि धोबीखोलासम्मको बाटोमा ढल तथा मंगाल मर्मत तथा सरसफाइ एवं ग्राभेलको काम सम्पन्न गरिएको वडाध्यक्ष भट्टराईले बताए।
वडाकै सुन्दरटोल, बालुवाखानीमा ग्राभेल हाल्ने काम सम्पन्नसमेत भएको उनले बताए। उनका अनुसार वडाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सीसी क्यामरा जडान गर्ने योजना ल्याइएको छ। यसैगरी स्वास्थ्य क्षेत्रमा नेपाल मेडिकल कलेजसँगको सहकार्यमा वडाभित्र एक घर, एक डाक्टर अभियान सञ्चालन गरिने भएको छ। रासस