बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाले काउ म्याट र ‘टियोसेन्टि’ बर्षे घाँस बिउ वितरण गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी किसानहरुलाई नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा सामाग्री वितरण गरिएको हो।
नगर भित्रका किसानहरुलाई दुध, फूल, मासुमा आत्म निर्भर गराउने पशु सेवा शाखाको लक्ष्य अन्तर्गत किसानहरुको कृषी तथा पशुपंक्षि पालन व्यवसायलाई प्रोत्साहन गर्न ४० वटा काउ म्याट र ८०० के.जी. ‘टियोसेन्टि’ बर्षे घाँस निःशुल्क वितरण गरिएको जानकारी पशु सेवा शाखा प्रमुख काजी श्रेष्ठले दिनु भएको छ ।
पशु सेवा शाखा को २०७७\७८ बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत नगरपालिका भित्र सञ्चालन भईरहेका कृषी तथा पशुपंक्षी फर्महरुलाई काउ म्याट र ‘टियोसेन्टि’ बर्षे घाँस को बिउ उपलब्ध गराउन फागुन महिनामा प्रस्ताव आव्हान गरेको थियो ।
आएका प्रस्तावहरु मध्यका व्यवसायीक संस्थाहरुको अवस्था नगरपालिका अनुगमन टोलि र पशु सेवा शाखाले संयुक्त रुपमा अनुगमन गरे पछि पास भएका २० वटा कृषी तथा पशुपंक्षी संस्थाहरुलाई सामाग्री वितरण गरिएको शाखा प्रमुख काजी श्रेष्ठले बताउनुभयो ।
प्रत्येक संस्थाहरुलाई ४/६.५ मिटरको २-२ वटा काउ म्याट र किसानहरुको आवश्यक्ता माग अनुसारको ‘टियोसेन्टि’ बर्षे घाँस बिउ वितरण गरिन लागेको हो, श्रेष्ठले जोड्नु भयो ।
नगरपालिकामा गाई पालन र पशुपालन व्यवसायमा संलग्न व्यवसायलाई यस सामाग्रीहरुले थप व्यवस्थित गर्न मद्दत पुग्ने भएको छ ।
नगरपालिकामा खुल्ला जमिन नभएको क्षेत्रहरुमा घाँसको अभाव भईरहेको र घाँस काट्नको लागी जंगलनै पुग्न पर्ने समस्या भईरहेको आवस्थामा टियोसेन्टि’ बर्षे घाँस बिउ आफ्नो कृषी फर्ममा छरेर सजिलै घाँस उमार्न सकिने भएकोले किसानहरु यस वितरण कार्य प्रति सन्तुष्ट रहेको बताउँछन् ।
यस्तै अव्यवस्थित गाईपालनमा हुने गरेको किटानु तथा किरा आतङ्कहरुले गाईहरुमा विभिन्न रोग सिर्जना हुने समस्या यस काउ म्याट ले न्युनिकरण गर्ने किसानहरुको बुझाई छ ।