दीर्घकालीन सोचलाई नगरपालिकाको एउटा मार्गदर्शन र रणनीति बाहेक आदर्शको रुपमा लिन सकिन्छ। दीर्घकालीन सोचले नगरपालिका पुग्न चाहेको र प्राप्त गर्न खोजेको एउटा आदर्श अवस्थालाई जनाउँछ। दीर्घकालीन सोच एउटा वा दुईवटा आवधिक योजनाको कार्यान्वयनले पुगिने अवस्था नभई लामो समयको प्रयासबाट पुग्न चाहेको अवस्था हो। वि. स. २१०० सम्ममा समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पमा योगदान पुर्याउने गरी बूढानीलकण्ठ नगरपालिकाको दीर्घकालीन सोच तय गरिएको छ।

दीर्घकालीन सोच विशेषगरी कुनैपनि ठाँउको अवसर र सम्भावनालाई हेरेर तय गरिन्छ। नगरपालिका सरोकारवालाहरुबाट सहभागिता मुलक पद्धति अवलम्बन गरी व्यापक मात्रामा छलफल पश्चात बूढानीलकण्ठ नगरपालिकाको दीर्घकालीन सोच तयार पारिएको हो।  बूढानीलकण्ठ नगरपालिकाको दीर्घकालीन सोच यस प्रकार रहेको छः “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ “

दीर्घकालीन सोचमा रहेका शब्दहरुको अर्थ तथा मर्मः 

नगरका प्रमुख सरोकारवालाहरुको व्यापक छलफल पछि तयार भएको यस दीर्घकालीन सोचमा स्वच्छ, शान्त, समृद्ध तथा पर्यटकीय गरी चारवटा विशेषणात्मक शब्दहरु बूढानीलकण्ठ शब्दको अगाडि राखिएका छन्।

स्वच्छ  : नेपाली शब्दसागरमा स्वच्छ शब्दको अर्थ कुनै किसिमको दोष खोट नभएको, सफा, चोखो, पवित्र, सुद्ध, निश्कलङ्क, चम्किलो, स्पष्ट, निरोग, तथा स्वस्थ भनी परिभाषित गरिएको छ। यहाँ स्वच्छ शब्दले विशेष गरी वातावरणीय हिसाबले सफा नगरलाई संकेत  गर्दछ। अव्यवस्थित शहरीकरण र बढ्दो प्रदुषणबाट उन्मुक्ति चाहना यसमा देखिन्छ। हरियाली वृद्धि, कम प्रदुषण गर्ने खालका औधिगिक क्रियाकलाप तथा यातायात साधन र सफा उर्जाको प्रयोगबाट यस्तो अवस्थामा पुग्ने परिकल्पना गरिएको छ।

शान्त :  सामान्यताः शान्त भन्नाले सुनसान, कोलाहल र ध्वनी प्रदुषण मुक्त अवस्था हो। बढ्दो यातायात तथा विभिन्न प्रकारका उपकरण एवं मानव सिर्जित अनावश्यक आवाजबाट मुक्त हुने चाहना यसमा देखिन्छ । यसको अतिरिक्त यस शब्दले द्वन्द तथा हिँसा रहित अवस्थालाई पनि संकेत गर्दछ । यस शब्दले नगरपालिका भित्रको मजबुत शान्ति सुरक्षाको अवस्थालाई संकेत गर्नुका साथै नगरवासीको समृद्धिको अवस्थालई पनि बुझाउँदछ।

समृद्ध : नेपाली शब्दसागरमा समृद्धको अर्थ पुगिसरी आएको, सम्पन्न, उन्नत, उन्नतीशील, भरिपूर्ण भनी परिभाषित गरिएको छ। त्यसै गरी राष्ट्रिय योजना आयोगले तयार पारेका १५ औँ योजनमा समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको अवस्थालाई समृद्धिको अवस्था भनेर परिभाषित गरेको छ।

पर्यटकिय : बूढानीलकण्ठ नगरपालिका पर्यटन विकासको प्रचुर सम्भावना बोकेको नगरपालिका हो। यहाँका मूर्त तथा अमूर्त एवं प्राकृतिक तथा मानव निर्मित सम्पदाहरुको परिचालन गरी यस नगरपालिकालाई एउटा पर्यटकीय आकर्षण केन्द्रको रुपमा देख्न सकिन्छ भन्ने सोच यस नगरपालिकाले राखेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय