काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित “विशेष क्षमता उत्प्रेरणा कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा अटिजम भएका बालबालिका र युवालाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण सन्देश प्रवाह गरेको छ। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा मास्टर सेफ ईन्डियामा सहभागी नेपाली सेफ रत्न बहादुर तामाङ्गको विशेष उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रम विविध रचनात्मक तथा सहभागितामूलक गतिविधिहरूले भरिपूर्ण थियो। सहभागीहरूका लागि योग तथा ध्यान सत्र, निःशुल्क स्वास्थ्य परीक्षण, फेस पेन्टिङ्ग, मनोविमर्श सेवा, सेवा सम्बन्धी जानकारी प्रदान गर्ने स्टलहरू सञ्चालन गरिएको थियो। साथै प्रतिभा प्रस्तुती अन्तर्गत गायन, वाद्यवादन, प्रेरणादायी भाषण लगायतका गतिविधिहरूले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो। विशेष गरी बोसिया खेल, टेबल टेनिस, चेस जस्ता खेलकुद गतिविधिहरू र व्हीलचेयर डान्स तथा र्याम्प वाक जस्ता प्रस्तुतीहरूले सहभागीहरूको आत्मविश्वास अभिवृद्धिमा उल्लेखनीय भूमिका खेले। फरक क्षमता भएका व्यक्तिहरूले आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गर्दा उपस्थित दर्शकहरू भावुक र प्रेरित भएका थिए। कार्यक्रमको अन्त्यतिर कार्यक्रमको समिक्षा तथा आगामी नीति तथा कार्यक्रमबारे छलफल पनि गरिएको थियो। सहभागी तथा सरोकारवालाहरूले आफ्ना सुझावहरू राख्दै नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले भने,
“विशेष क्षमता भएका व्यक्तिहरू समाजका अभिन्न अंग हुन्। उनीहरूको क्षमता उजागर गर्ने र आत्मनिर्भर बनाउने दायित्व स्थानीय सरकारको हो। यस प्रकारका कार्यक्रमले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सोच विकास गर्न मद्दत गर्छ।”
उप–प्रमुख अनिता लामाले आफ्नो मन्तव्यमा भनिन्,
“समावेशी विकास बिना समृद्धि सम्भव छैन। हामीले नीतिगत रूपमा पनि विशेष क्षमता भएका व्यक्तिहरूको सशक्तीकरणलाई प्राथमिकतामा राखेका छौँ। आगामी कार्यक्रमहरू अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।”
अतिथि सेफ रत्न बहादुर तामाङ्गले सहभागीहरूलाई प्रेरणा दिँदै भने,
“क्षमता कुनै सीमाले बाँधिँदैन। अवसर पाएपछि जोसुकैले पनि आफ्नो प्रतिभा विश्वमञ्चमा देखाउन सक्छ। म यहाँका सहभागीहरूको उत्साह र प्रतिभाबाट अत्यन्त प्रभावित भएको छु।”
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कार्यक्रमको व्यवस्थापन पक्ष र दीर्घकालीन प्रभावबारे उल्लेख गर्दै भने,
“यस्ता कार्यक्रमले केवल एक दिनको उत्साह मात्र होइन, दीर्घकालीन रूपमा आत्मनिर्भरता र सशक्तीकरणको आधार तयार गर्छ। नगरपालिकाले सेवा पहुँचलाई अझ सहज र प्रभावकारी बनाउँदै विशेष क्षमता भएका व्यक्तिहरूलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाउनेछ।”
कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुती दिने सहभागीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। समग्रमा, यस कार्यक्रमले फरक क्षमता भएका व्यक्तिहरूको आत्मसम्मान, आत्मविश्वास र सामाजिक समावेशीतालाई मजबुत बनाउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।





