(कृत्रिम बौद्धिकता सिर्जित चित्र)

बुढानीलकण्ठ, ३ वैशाख २०८३, बुढानीलकण्ठ नगरपालिकाले शैक्षिक गुणस्तर सुधार र प्रशासनिक चुस्तताका लागि सबै सामुदायिक विद्यालयहरूमा अनिवार्य बायोमेट्रिक (Biometric) हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। २०८३ साल वैशाख १ गतेदेखि नगरपालिका अन्तर्गतका सम्पूर्ण १९ वटै सामुदायिक विद्यालयहरूमा केन्द्रिकृत ई-हाजिरीको सुरुवात भएको हो। यस प्रविधिमार्फत अब सबै विद्यालयहरूको अनुगमन एकैपटक नगरपालिकाबाट सफ्टवेयरको सहयोगमा हुने सुनिश्चित गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार नयाँ प्रणाली अन्तर्गत शिक्षक तथा कर्मचारीहरूले बिहान १०:०० बजे अगावै अनिवार्य रूपमा हाजिरी गरिसक्नुपर्नेछ। बेलुका ४:०० बजे पछाडि मात्र ‘चेकआउट’ गर्न मिल्ने गरी सिस्टम विकास गरिएको छ। हाजिरी गर्दा औंठा छाप (Fingerprint) वा अनुहार (Face) दुवै माध्यम प्रयोग गर्न सकिने सुविधा छ। अनुशासनलाई कडाइ गर्दै बिना जानकारी अनुपस्थित हुने वा बायोमेट्रिक हाजिरी नगर्ने शिक्षक तथा कर्मचारीहरूको तलब निकासा रोक्का गर्ने निर्णय नगरपालिकाले लिएको छ।

                                                                                                                                                     (कृत्रिम बौद्धिकता सिर्जित चित्र)

शिक्षक तथा कर्मचारीहरू समयमै विद्यालयमा उपस्थित भई अध्यापन कार्यमा संलग्न हुने र विद्यालय समय पछि मात्र बाहिरिने भएपछि विद्यार्थीको पढाइमा समयको अभाव नहुने विश्वास नगरपालिकाको छ। यो व्यवस्थाले प्रत्यक्ष रूपमा विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुग्ने देखिन्छ। प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जिम्मेवारी सम्हालेपछि यसअघि नै सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा ई-हाजिरी प्रणाली सञ्चालनमा ल्याएका थिए। २०८२ साल चैत्र २३ गतेदेखि कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम भएपछि सबै मातहतका कार्यालयहरूमा हाजिरीको समय पनि सोही बमोजिम निर्धारण गरिएको छ। यस कार्यले कर्मचारीहरूलाई समयमै कार्यालयमा उपस्थित गराई सेवाग्राहीलाई छिटो-छरितो सेवा प्रवाह गर्न मद्दत पुगेको छ। केन्द्रिकृत ई-हाजिरीको आधारमा राष्ट्रिय सतर्कता केन्द्र लगायत सेवा प्रवाहको अनुगमन गर्ने निकायहरूलाई समेत प्रविधिमैत्री र सरल ढङ्गले निरीक्षण गर्न सहज भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय