काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७, हात्तिगौडामा “नागरिकसँग न्यायिक समिति” कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, न्यायिक समितिका पदाधिकारी तथा वडाबासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख तथा न्यायिक समिति संयोजक अनिता लामा, वडा नं. ७ का वडा अध्यक्ष बस नारायण महर्जन लगायत न्यायिक समितिका पदाधिकारीहरू उपस्थित थिए। कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना अनुभव, गुनासा तथा सुझावहरू खुलस्त रूपमा राखेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनु, मेलमिलाप सम्बन्धी सचेतना अभिवृद्धि गर्नु तथा न्यायिक सेवामा नागरिकको पहुँच बढाउनु रहेको थियो। साथै विद्युतीय न्याय व्यवस्थापन प्रणालीबारे जानकारी प्रदान गर्दै न्यायिक निर्णयसम्बन्धी नागरिकका अनुभव सुन्ने र आवश्यक सुझाव संकलन गरिएको थियो।नेपालको संविधानको धारा २१७ अनुसार गठन भएको न्यायिक समिति स्थानीय तहमा विवाद समाधान गर्ने प्रमुख निकायका रूपमा स्थापित छ। उप-प्रमुखको संयोजकत्वमा तीन सदस्यीय रहने यस समितिले स्थानीय विवादलाई छिटो, छरितो र प्रभावकारी ढंगले समाधान गर्दै आएको छ। कार्यक्रममा न्यायिक समितिको संरचना, कार्यप्रणाली तथा अधिकार क्षेत्रबारे विस्तृत जानकारी दिइएको थियो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिले आलीधार, पानीको उपयोग, ज्याला–मजदुरी, घरबहाल, सार्वजनिक स्थलको उपयोगमा अवरोध, गालीबेइज्जती, सामान्य कुटपिट जस्ता विवादहरूको निरूपण तथा मेलमिलापमार्फत समाधान गर्न सक्ने व्यवस्था रहेको जानकारी गराइयो। कार्यक्रममा मेलमिलापलाई विवाद समाधानको सर्वोत्तम उपायका रूपमा जोड दिँदै संवाद, सहानुभूति र समझदारीबाट दिगो समाधान सम्भव हुने उल्लेख गरिएको थियो। “सहमति दुबै पक्षको जित हो” भन्ने सन्देशसहित नागरिकलाई मेलमिलाप प्रक्रियातर्फ आकर्षित गर्न प्रेरित गरिएको थियो।
न्यायिक समितिले हालसम्म निःशुल्क कानुनी परामर्श, फिल्ड निरीक्षण, लैङ्गिक हिंसा पीडितलाई आर्थिक सहायता तथा जेष्ठ नागरिक, बालबालिका र श्रमिकका मुद्दामा निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी पनि कार्यक्रममा साझा गरिएको थियो। कार्यक्रममा वडाबासीहरूले न्यायिक सेवाको सहजता, छिटो सेवा प्रवाह र पारदर्शितामा अझ सुधार गर्नुपर्ने सुझाव दिएका थिए। नागरिकका गुनासा सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गरेका थिए।नगरपालिकाले न्यायिक समितिमार्फत स्थानीय तहमै विवाद समाधान गर्दै सामाजिक सद्भाव र सहकार्यलाई सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नागरिक र स्थानीय सरकारबीच विश्वास र सहकार्य अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





