काठमाडौं। “स्थानीय स्रोत साधनको सदुपयोग गरी सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित बुढानीलकण्ठ नगरपालिकामा सञ्चालन भइरहेको नगर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत १ महिने मखमलको जुत्ता बनाउने सीप विकास तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित उक्त तालिम २०८२ साल चैत्र १८ गतेदेखि सुरु भई बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा निरन्तर सञ्चालनमा रहेको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिममा सहभागीहरू उत्साहजनक रूपमा सिकाइमा संलग्न देखिएका छन्।
तालिमको अनुगमन क्रममा बुढानीलकण्ठ नगरपालिकाका उप-प्रमुख अनिता लामा तथा वडा नं. ११ का अध्यक्ष राजु अधिकारी सहभागी भई तालिमको प्रगति, सिकाइ प्रक्रिया तथा सहभागीहरूको अनुभवबारे जानकारी लिएका थिए र यस्ता कार्यक्रमले स्थानीय युवाहरू तथा महिलाहरूलाई सीपमूलक बनाउँदै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। उक्त तालिम बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तिगौडा, काठमाडौंको आयोजनामा सञ्चालन भइरहेको हो। कार्यक्रमले परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै उत्पादनशीलता बढाउने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यस प्रकारका सीपमूलक तालिमहरूले स्थानीय स्रोत र श्रमलाई सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्ने मात्र होइन, नगरको समग्र आर्थिक विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।






