बुढानीलकण्ठ युवा परिषद्द्वारा च्यारिटी फुटबल सम्पन्न: वृद्धाश्रमलाई सहयोग
काठमाडौं, चैत ९ – बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ बुढानीलकण्ठ युवा परिषद्ले आज एक सामाजिक उद्देश्यका साथ च्यारिटी फुटबल खेल सफलतापूर्वक सम्पन्न गरेको छ। एकता, अन्तर्राष्ट्रिय मित्रता र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त मैत्रीपूर्ण खेल हिमालयन गेल्स एफसीसँग खेलिएको थियो। आयरल्याण्ड र यूकेबाट आएका खेलाडीहरू सम्मिलित हिमालयन गेल्स एफसीले यस कार्यक्रममा सक्रिय सहभागिता जनाउनुका साथै मुख्य प्रायोजकको भूमिका पनि निर्वाह गरेको थियो। उनीहरूले च्यारिटीका लागि कुल ५०० अमेरिकी डलर सहयोग प्रदान गरी कार्यक्रमलाई थप उचाइ दिएका छन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा जेन–जे आन्दोलनका क्रममा भाइरल भएका ह्यारी ज्याकसन ‘We Hate The Cold’ पनि उपस्थिति रहेको थियो, जसले उपस्थित दर्शक तथा खेलाडीहरूमा थप उत्साह थपेको थियो। आयोजकका अनुसार, उक्त खेलमार्फत संकलित सम्पूर्ण रकम बुढानीलकण्ठ क्षेत्रमा अवस्थित एक वृद्धाश्रमको सहयोगका लागि प्रयोग गरिनेछ। यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका अध्यक्ष सुमन लामाको गरिमामय उपस्थिति रहेको थियो। बुढानीलकण्ठ युवा परिषद्ले यस सफल कार्यक्रमका लागि सम्पूर्ण खेलाडी, प्रायोजक, सहयोगी संस्था तथा उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। यस प्रकारका कार्यक्रमले खेलकुदलाई सामाजिक सेवाको माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।







