काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ अन्तर्गत पञ्चकन्यामार्ग र चपली गाउँ क्षेत्रमा सडक कालोपत्रे कार्य सम्पन्न भएको छ। लामो समयदेखि नगरपालिकाको ध्यानाकर्षणमा रहेको उक्त क्षेत्र विभिन्न चुनौती, अपिल तथा कानुनी प्रक्रिया पार गरेपछि मात्र कार्यान्वयनमा ल्याउन सफल भएको हो।
सडक स्तरोन्नतिसँगै स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको धुलो, हिलो र आवत–जावतको समस्या समाधान भएको छ। परियोजना अघि बढाउने क्रममा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधान गर्दै नगरपालिकाले योजना सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। कालोपत्रे कार्यको अनुगमन गर्न नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा वडा नं. ४ का वडा अध्यक्ष श्रीराम के.सी. सहितको टोली स्थलमै पुगेको थियो। अनुगमनका क्रममा नगर नेतृत्वले सम्पन्न कार्यको प्रशंसा गर्दै गुणस्तरीय निर्माणमा जोड दिएका छन्।
नगर प्रमुख अधिकारीले विकास निर्माणका कार्यमा आएका अवरोधलाई कानुनी प्रक्रिया अनुरूप समाधान गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्याए। उप–प्रमुख लामाले स्थानीयवासीको सहकार्य र धैर्यताका कारण योजना सफल भएको उल्लेख गरिन्। वडा अध्यक्ष के.सी.ले वडा भित्रका अन्य आवश्यक पूर्वाधार विकासका कामलाई समेत प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिए। स्थानीयवासीको उपस्थितिमा सम्पन्न अनुगमन कार्यक्रमले क्षेत्रको विकासप्रति नगरपालिकाको सक्रियता र प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।






