बुढानीलकण्ठ नगरपालिका, फागुन ६ — बुढानीलकण्ठ नगरपालिका वडा नं. २ कालिकापार्कमा तमु ल्होसार, सोनाम ल्होछार र ग्याल्पो ल्होसारको संयुक्त शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विविध भाषा, संस्कृति र पहिचानको साझा थलोका रूपमा रहेको समाजमा आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको सभाध्यक्षता वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए। प्रमुख अतिथिका रूपमा नगर प्रमुख मिठाराम अधिकारी, नगर उप प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला उपस्थित थिए। कार्यक्रम संयोजक विजय तामाङको सक्रिय समन्वयमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू— वडा नं. १ का सुरेन्द्र लामा, वडा नं. ३ का आकाश धिताल, वडा नं. ४ का श्रीराम के. सी, वडा नं. ५ का कृष्ण शाह, वडा नं. ६ का रवि खड्का, वडा नं. ७ का बस नारायण महर्जन, वडा नं. ८ का सुमन तामाङ, वडा नं. ९ का सुमित्रा त्रिपाठी पाण्डे, वडा नं. १० का नवराज भट्टराई, वडा नं. ११ का राजु अधिकारी, वडा नं. १२ का शम्भु प्रसाद भट्टराई र वडा नं. १३ का टिका नारायण श्रेष्ठ लगायत नगर कार्यपालिका सदस्य, जनप्रतिनिधि, बुद्धिजीवी, कर्मचारी, पत्रकार तथा विभिन्न भाषा, कला र संस्कृतिका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 
कार्यक्रमको प्रारम्भमा अतिथिहरूलाई आसन ग्रहण गराइएको थियो। त्यसपछि कार्यक्रमको उद्देश्यबारे संक्षिप्त जानकारी दिँदै तामाङ, गुरुङ तथा शेर्पा समुदाय लगायत सम्पूर्ण नगरबासीले ल्होसार पर्वहरू सामूहिक रूपमा मनाउने, आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने तथा स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा साझा प्रतिबद्धता जनाउने लक्ष्य रहेको उल्लेख गरियो। औपचारिक उद्घाटन अष्टमंगल गानसहित प्रमुख अतिथिबाट छुमि प्रज्ज्वलन गरी सम्पन्न गरिएको थियो। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
स्वागत मन्तव्य नगर उप प्रमुख अनिता लामाले व्यक्त गर्दै ल्होसार पर्वले विविध समुदायबीचको आत्मीयता, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्। उनले नगरपालिकाले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गरिन्।त्यसपश्चात् विभिन्न समुदायका कलाकारहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै ल्होसार पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र सहअस्तित्वको भावना सुदृढ गर्ने बताए। उनले सांस्कृतिक विविधता नै नगरको पहिचान भएको उल्लेख गर्दै सबै समुदायलाई समान सम्मान र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन नगर प्रमुख मिठाराम अधिकारीबाट गरिएको थियो। समापन मन्तव्यमा उनले संयुक्त रूपमा पर्व मनाउने परम्पराले सामाजिक एकता र पारस्परिक विश्वास अझ बलियो बनाउने धारणा राख्दै उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरे।उद्घाटन सत्र समापन भएपश्चात् सांस्कृतिक कार्यक्रमले निरन्तरता पाएको थियो। संयुक्त रूपमा ल्होसार पर्व मनाउने यस कार्यक्रमले बुढानीलकण्ठ नगरपालिकामा सांस्कृतिक एकता र सद्भावको सन्देश थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।






