काठमाडौं । बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडा र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीबीच मुटुरोग सम्बन्धी उपचार सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता सम्पन्न भएको छ। स्थानीयलाई लक्षित गरि नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको ‘संवेदनशील मुटु स्वास्थ्य सुरक्षा’ प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गर्न दुवै पक्षबीच सम्झौता भएको हो।

सम्झौता अनुसार बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने १५ देखि ७४ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी मुटुरोग सम्बन्धी उपचार सेवा प्रदान गरिनेछ। गंगालाल हृदय केन्द्रमा उपचार गराएका भर्ना भएका बिरामीले वर्षमा एक पटक अधिकतम ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नेछन्। सेवा प्रदान गरेपछि सम्बन्धित तथ्यांक, अभिलेख तथा प्रमाण अस्पतालले नगरपालिकालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

उपचारको क्रममा संघीय तथा प्रदेश सरकारमार्फत उपलब्ध हुने निःशुल्क वा न्यून शुल्कीय सेवा प्रक्रिया पूर्ण रूपमा अपनाएपछि मात्रै थप उपचारमा यस सम्झौताअनुसारको सुविधा लागू हुने उल्लेख गरिएको छ। कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार कोष स्थापना गर्नेछ, जसको व्यवस्थापन सम्झौताका शर्तअनुसार गरिने जनाइएको छ।मुटुरोग सम्बन्धी परीक्षण, शैया शुल्क लगायतका सेवा अस्पतालको प्रचलित दररेटअनुसार हुनेछन् भने नियमित स्वास्थ्य परीक्षण वा भुक्तानी सेवा अन्तर्गत पर्ने सामान्य सेवामा भने यो सुविधा लागू नहुने स्पष्ट पारिएको छ। नगरपालिकाले सिफारिस गरेका बिरामीको उपचारमा अस्पतालले उपलब्ध गराएको सेवाको आधारमा त्रैमासिक प्रतिवेदन अनुसार भुक्तानी गरिनेछ।

सम्झौतामा स्वास्थ्य उपचार कोषको प्रयोग, सोधभर्ना तथा बजेट व्यवस्थापनका विषयमा दुवै पक्षबीच नियमित छलफल बैठकमार्फत आवश्यक निर्णय गरिने उल्लेख गरिएको छ। साथै, बिरामी सिफारिस गर्दा फोटोसहितको सिफारिस फाराम र स्थायी बासिन्दा प्रमाणित हुने नागरिकता, मतदाता परिचयपत्र, जन्मदर्ता वा बसाइँसराइ सम्बन्धी कागजात अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यस कार्यक्रमले नगरपालिकाभित्र मुटुरोगको जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय