बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ को आयोजनामा तथा वडा नं. ९ युवा परिषदको व्यवस्थापनमा सञ्चालित अन्तर विद्यालय विविध खेलकुद प्रतियोगिता–२०८२ माघ २२ देखि माघ २५ गतेसम्म विभिन्न खेल विधासहित सम्पन्न भएको छ।वडाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास र स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन लामा, नगर युवा परिषदका उपाध्यक्ष शिरीष पौडेल तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले युवालाई खेलकुदमार्फत अनुशासित, सक्रिय र सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए।

प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटबल, कबड्डी, टग अफ वार र भलिबललगायत विभिन्न विधामा विद्यालयहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो। विभिन्न खेलतर्फ Kasthamandap School, National Ideal School, St. Devis School, Bigyan School तथा Neighbourhood School ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका थिए। छात्र र छात्रा दुवै समूहमा भएका खेलहरूले विद्यार्थीहरूको क्षमता, सहकार्य भावना र खेलकुदप्रतिको लगाव झल्काएको आयोजकको भनाइ छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ ले आगामी दिनमा पनि विद्यालयस्तरमा खेलकुद गतिविधि विस्तार गर्दै युवालाई खेलकुदमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय