काठमाडौं । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय मिति २०८२ साल माघ २ गते शुक्रबार बिहान १०:४५ बजे बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित जेष्ठ नागरिक भवनमा औपचारिक रूपमा स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको पत्राचारअनुसार कार्यालय स्थापना गर्न आवश्यक फर्निचर, कम्प्युटर लगायतका सामग्रीहरूको व्यवस्था बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा गरिएको हो। उक्त कार्यालय स्थापनासँगै निर्वाचनसम्बन्धी प्रशासनिक कार्यहरू सहज र प्रभावकारी हुने विश्वास लिइएको छ।
कार्यालय स्थापना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिकाका वडा अध्यक्षज्यूहरू, विभिन्न राजनीतिक दलका नगर कमिटीका सभापति/अध्यक्ष तथा प्रतिनिधिहरू, साथै नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन स्थानीय तह र निर्वाचन कार्यालयबीचको सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। नयाँ स्थापना गरिएको कार्यालयले मतदाता नामावली व्यवस्थापन, निर्वाचनसम्बन्धी सूचना तथा अन्य प्रशासनिक सेवाहरू स्थानीयस्तरमै प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न आवश्यक सहयोग र समन्वय निरन्तर रहने जनाएको छ।






