बुढानीलकण्ठ, काठमाडौँ — मिति २०८२/०९/२९ गते मङ्गलबारका दिन बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिका हलमा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय र बुढानीलकण्ठ नगरपालिका बीच अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको विशेष उपस्थिति रहेको थियो। साथै सम्बन्धित निकायका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया, त्यसका लाभ, योगदान प्रणाली तथा कार्यान्वयनका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले श्रमिकको सामाजिक र आर्थिक सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले यस विषयमा आवश्यक सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी उप–प्रमुख अनिता लामाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु स्थानीय तहको पनि साझा दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सामाजिक सुरक्षा कोषसम्बन्धी नीति तथा प्रक्रियालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नगरपालिकाले आवश्यक समन्वय गर्ने जानकारी गराए। कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा सकारात्मक सन्देश प्रवाह गरेको र आगामी दिनमा प्रदेश सरकार तथा स्थानीय तहबीच थप सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय