काठमाडौं । “संस्कृति, स्वाद र पर्यटनको संगम–बुढानीलकण्ठ” भन्ने मूल नारासहित बुढानीलकण्ठ सडक खाना महोत्सव भव्य रूपमा शुभारम्भ गरिएको छ। महोत्सवको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार हरिवंश आचार्य तथा हास्य कलाकार सुरवीर पण्डितको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ आसन ग्रहण र राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य राख्दै महोत्सवले स्थानीय संस्कृति, मौलिक खानाको प्रवर्द्धन र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन। महोत्सवको औपचारिक उद्घाटन कार्यक्रमका अध्यक्षबाट स्थानीय परिकार तयार गरी गरिएको थियो, जसले बुढानीलकण्ठको मौलिक पहिचानलाई विशेष रूपमा उजागर गर्यो। उद्घाटनपछि बाल विकास आधारभूत विद्यालयका विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।पर्यटन बोर्डका कार्यवाहक अध्यक्ष वैकुण्ठ प्रसाद अधिकारीले सरोकारवालाहरूलाई धन्यवाद मन्तव्य दिँदै सडक खाना महोत्सवजस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए। त्यसपछि विभिन्न प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो। कार्यक्रममा वडा नं. ५ डाँडागाउँबाट सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूको मन जित्न सफल भयो।
विशेष अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो शुभकामना मन्तव्यमा नेपाली मौलिक खाना, संस्कृति र कलालाई संरक्षण गर्दै पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बतौलाले नगरपालिकाले यस्ता सिर्जनात्मक र आर्थिक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठलाई खाना, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताउदै स्थानीय उत्पादन, परिकार र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।
कार्यक्रमका सभाध्यक्ष कृष्ण शाह ठकुरीले धन्यवाद ज्ञापन मन्तव्यसहित कार्यक्रम समापनको घोषणा गर्दै कार्यक्रमको अन्त्यमा सामूहिक फोटोसेसन गरिएको थियो।बुढानीलकण्ठ सडक खाना महोत्सवले स्थानीय परिकारको प्रवर्द्धन गर्दै संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको छ।






