काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको “KUSHAL – Vocational Skill Oriented Basic Training on General Cook” कार्यक्रमअन्तर्गत तालिम पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। प्रमाणपत्र वितरण कार्यक्रम २०२६ जनवरी ९ मा बुढानीलकण्ठमै सम्पन्न भएको हो।
उक्त तालिम बुढानीलकण्ठ नगरपालिका, चाँगुनारायण फाउन्डेसन तथा ओरियन्टल हस्पिटालिटीको सहकार्यमा सञ्चालन गरिएको थियो। ६ महिनाको तालिम अवधिमा ३ महिने व्यावसायिक (Vocational) तालिम र ३ महिने अन-द-जब ट्रेनिङ (OJT) समावेश गरिएको थियो। तालिममा कन्टिनेन्टल, चाइनिज, इटालियन, इन्डियन तथा नेपाली परिकार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको छ। कार्यक्रममा १८ जना सहभागी रहेका थिए।
प्रमाणपत्र वितरण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले युवालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिका निरन्तर काम गरिरहेको जानकारी गराएका छन। नगर प्रमुखले स्थानीय तह, गैरसरकारी संस्था तथा निजी क्षेत्रबीचको सहकार्यले गुणस्तरीय जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउने विश्वास जनाएका थिए।
शिक्षा शाखाका प्रतिनिधि ललित विक्रम सिंहले तालिमले सहभागीहरूलाई होटल तथा आतिथ्य सत्कार क्षेत्रमा आवश्यक व्यावसायिक दक्षता प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले तालिमपछि रोजगारी र स्वरोजगारीका अवसर विस्तार हुने अपेक्षा गरेका छन।ओरियन्टल हस्पिटालिटीका म्यानेजिङ डाइरेक्टर यामा ढकालले तालिममा अन्तर्राष्ट्रिय स्तरका कुकिङ अभ्यास र वास्तविक कार्यस्थलमा आधारित सिकाइ प्रदान गरिएको जानकारी दिएकी छन। त्यस्तै, चाँगुनारायण फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर सरोज न्यौपानेले कार्यक्रमले स्थानीय युवालाई दिगो रोजगारीतर्फ अग्रसर गराउने महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रमले होटल, रेस्टुरेन्ट तथा आतिथ्य सत्कार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै स्थानीय युवाको रोजगारी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






