शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न नगर शिक्षक सम्मेलन विविध शैक्षिक छलफल, सम्मान तथा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी ले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, गुणस्तरीय शिक्षा र सुशासन अपरिहार्य रहेको बताए।
नगर प्रमुख अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नरही विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति, स्रोत र वातावरण तयार गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रमको विशेष अतिथि नगर उप–प्रमुख अनिता लामाले शिक्षामा समान पहुँच, शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थानीय तहबाट शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको बताइन्। उनले शिक्षक सम्मेलनले अनुभव आदान–प्रदान र नीतिगत सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरिन्।
सम्मेलनमा बरिष्ठ संगीतकार प्रदीप बमजन को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरिएको छ।
सर्वोत्कृष्ट प्रधानाध्यापक : हरेराम खत्री
सर्वोत्कृष्ट शिक्षक : सरीता न्यौपाने
निवृत्त शिक्षक सम्मान प्रदान गरिएको छ।
एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल बालउद्धार माध्यमिक विद्यालय र यज्ञमती माध्यमिक विद्यालय लाई विशेष सम्मान गरिएको छ।
कार्यक्रममा तयारी समितिका तर्फबाट प्रधानाध्यापक जानुका दाहाल ले बुँदागत रूपमा प्रतिबद्धता घोषणा वाचन गर्दै सामूहिक हस्ताक्षर गराइएको थियो। सम्मेलनको समग्र संश्लेषण प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला ले प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका संयोजक शान्ता ढकाल ले गरेका थिए। सम्मेलनमा उपसचिव ललित विक्रम सिंह, सामुदायिक विद्यालय सुधार अभियन्ता अभिषेक घिमिरे, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय शिक्षा विधेयकको मस्यौदा प्रस्तुति, अन्तरसंवाद, नगरको शैक्षिक उपलब्धि प्रस्तुति, प्रश्नावली संकलन तथा “शिक्षामा सुधार सम्भव छ” विषयक प्रेरणात्मक प्रस्तुति समेत सम्मेलनका महत्वपूर्ण पक्ष बने।
समापन सत्रमा अध्यक्ष शान्ता ढकालले सम्मेलनले शिक्षकको पेशागत क्षमता अभिवृद्धि, शैक्षिक सुशासन र नगरको समग्र शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सबै सहभागीप्रति धन्यवाद ज्ञापन गरिन्।






