बुढानीलकण्ठ, काठमाडौं। बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको पहिचान गर्ने उद्देश्यसहित जगडोल–तारेभिर (Ultimate Venue and Resort) हुँदै बुढानीलकण्ठ मन्दिरसम्मको पदयात्रा (हाइकिङ) कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार मिति २०८२ साल पौष १० गते, बिहान ठीक ७:०० बजे बुढानीलकण्ठ नगरपालिका–जगडोलबाट सुरु भएको पदयात्रामा करिब ४०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पर्यटनप्रेमी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जगडोल–तारेभिर क्षेत्र हुँदै सम्पन्न पदयात्राले बुढानीलकण्ठ क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्र सुदृढ गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि पर्यटनमैत्री कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

उप–प्रमुख अनिता लामाले पर्यटन विकास स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने बताउँदै, यस्ता कार्यक्रमले महिला, युवाहरू र स्थानीय बासिन्दालाई पर्यटनसँग जोड्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक सम्पदा संरक्षणसँगै दिगो पर्यटन प्रवर्द्धनमा नगरपालिकाको ध्यान केन्द्रित रहेको बताउनुभयो।

पदयात्रा पश्चात महिला सहभागीहरूलाई ढाकाको सलपुरुष सहभागीहरूलाई ढाका टोपी प्रदान गरी सम्मान गरिएको थियो।साथै, पदयात्रा कार्यक्रमको अन्त्यमा बुढानीलकण्ठ नगरपालिका वडा .न.२ स्थित तौलुङ डम्फु समाजको तर्फबाट सहभागीहरूको भव्य स्वागत गरिएको थियो।

“🌿 प्रकृतिसँगै पदयात्रा, पर्यटन प्रवर्द्धनमा सहभागिता” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमले बुढानीलकण्ठलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय