काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी ऐन, नियम तथा दर्ता प्रणालीबारे कर्मचारी लक्षित दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा २०८२ पौष ७ र ८ गते सञ्चालन भएको उक्त तालिममा नगरपालिकाअन्तर्गतका स्थानीय पञ्जीकाधिकारी तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य दैनिक कार्यसम्पादनका क्रममा देखिने जटिलता तथा समस्याहरूको समाधान खोज्नुका साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो) संशोधन नियमावली, २०७७ सम्बन्धी विषयमा स्पष्टता ल्याउनु रहेको थियो।

कार्यक्रममा विषयविज्ञहरूद्वारा व्यक्तिगत घटना दर्ता प्रणाली, सामाजिक सुरक्षा सेवा प्रवाह, कानुनी व्यवस्था तथा प्रक्रिया सम्बन्धी प्रस्तुति दिइनुका साथै सहभागी कर्मचारीहरूसँग अन्तरक्रिया गरिएको थियो। छलफलका क्रममा सेवा प्रवाहलाई अझ सरल, प्रभावकारी र नागरिकमैत्री बनाउने उपायहरूबारे सुझाव आदान–प्रदान गरिएको थियो।

तालिमले कर्मचारीहरूको ज्ञान र दक्षता अभिवृद्धि भई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सेवाको गुणस्तर सुधार हुने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय