काठमाडौँ । उच्च अदालत पाटन र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच (Judicial Outreach) कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा न्यायपालिका र स्थानीय सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।
मिति २०८२ पौष ४ गते शुक्रबार, दिनको १:०० बजे नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवर, माननीय न्यायाधीश चन्द्रबहादुर सारू, राजकुमार खतिवडा र सूर्यप्रसाद पराजुलीको उपस्थिति रहेको थियो। साथै नगर उप–प्रमुख अनिता लामा, उच्च अदालत पाटनका रजिष्ट्रार अशोककुमार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, उप–रजिष्ट्रार दिव्यराज घिमिरे, उच्च अदालत वार एसोसियसन, पाटनका अध्यक्ष विदुरप्रसाद ढुंगाना तथा उच्च अदालतका अधिकृत लोचन ढकाल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य नगर उप–प्रमुख अनिता लामाले व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय तह र न्यायपालिकाबीचको सहकार्यले नागरिकलाई सहज, छिटो र विश्वासयोग्य न्याय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमै न्यायप्रति जनविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपस्थित न्यायाधीशहरूले पनि न्यायपालिकाले नागरिकको पहुँचमा पुगेर सचेतना फैलाउने प्रयास आवश्यक रहेको बताउँदै, न्यायमा बाह्य पहुँच जस्ता कार्यक्रममार्फत न्यायिक सेवाको प्रभावकारिता बढ्ने र नागरिकमा न्यायप्रतिको भरोसा थप सुदृढ हुने धारणा व्यक्त गरे।






