“कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको तस्बिर।”
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कृषि क्षेत्रको उत्पादन र व्यवसायिक प्रवर्द्धनलाई लक्षित गर्दै अदुवा–बेसार वितरण कार्यक्रम तथा टिस्यु कल्चर व्यवसाय प्रवर्द्धन तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको कृषि विकास शाखाद्वारा प्रथम पटक २०८२ साल पौष ६ गते प्रकाशित सूचना अनुसार यी दुवै कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन गरिनेछ। नगरभित्रका इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
अदुवा–बेसार वितरण कार्यक्रम (५० प्रतिशत अनुदान)
अदुवा र बेसार खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमका लागि कृषक समूह तथा कृषि सहकारी संस्थाले दर्ता तथा नवीकरण भएको प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। साथै समूह वा सहकारीको बैठक निर्णय प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, निवेदकको नेपाली नागरिकताको प्रतिलिपि तथा नगरपालिकामा स्थायी बसोवास भएको प्रमाण खुल्ने परिचय पत्र आवश्यक रहनेछ। खेती गरिने जग्गाको लालपुर्जा वा लिजमा भए सम्झौता पत्रको प्रतिलिपि समेत अनिवार्य गरिएको छ।
टिस्यु कल्चर व्यवसाय प्रवर्द्धन तथा प्रोत्साहन कार्यक्रम
टिस्यु कल्चर नर्सरी तथा व्यवसायिक खेतीलाई प्रोत्साहन गर्न सञ्चालन गरिने यस कार्यक्रममा व्यवसायिक कृषि फर्म, कृषक समूह, सहकारी तथा निजी फार्म सहभागी हुन सक्नेछन्। आवेदनका लागि दर्ता तथा नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस, निवेदकको नागरिकता प्रमाणपत्र तथा कृषक समूह वा सहकारीको निर्णय प्रतिलिपि पेश गर्नुपर्नेछ। नर्सरी सञ्चालन गरिएको जग्गाको लालपुर्जा वा भाडामा लिएको भए कम्तीमा ३ वर्षको करार अवधि भएको सम्झौता पत्र अनिवार्य गरिएको छ।
“कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको तस्बिर।”
नगरपालिकाले यी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, व्यवसायिक कृषिको विस्तार तथा कृषकको आयस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। थप जानकारीका लागि बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।






