काठमाडौँ। काठमाडौँ महानगरपालिकाको छेवैमा, हरियाली पहाडको फेदमा अवस्थित बुढानीलकण्ठ नगरपालिका पछिल्ला वर्षहरूमा योजनाबद्ध विकासमार्फत् पर्यटकले हेर्नलायक र नगरबासी बस्नलायक सुन्दर शहर बन्ने लक्ष्यसहित अघि बढिरहेको छ। काठमाडौँ उपत्यकाको उत्तर किनारमा फैलिएको यो नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा र शान्त वातावरणका कारण राजधानी नजिकैको आकर्षक गन्तव्यका रूपमा उदाउँदै आएको छ।

छेउमै हरियाली पहाड, कतैकतै कलकल बग्ने खोला, चराचुरुङ्गीको चिरबिर आवाज र अलि माथि उक्लिँदा देखिने काठमाडौँ उपत्यकाको मनोरम दृश्यले बुढानीलकण्ठ नगरपलिकालाई विशेष बनाएको छ। तर करिब एक दशकअघि यही स्थान अनकण्टार गाउँजस्तै थियो। विकासका पूर्वाधार सीमित थिए, स्रोत–साधन र जनप्रतिनिधिको अभाव थियो। तर आज भने बुढानीलकण्ठ ‘स्वच्छ, शान्त र समृद्ध शहर’ बन्ने अभियानमा निरन्तर अघि बढिरहेको छ।

भूकम्पपछिको पुनरोत्थान र योजनाबद्ध विकासको सुरुवात

२०७१ मंसिर १६ गते ६ वटा गाविसलाई एकीकृत गरी बुढानीलकण्ठ नगरपालिका घोषणा गरिए पनि पाँच महिनामै २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले नगरपालिकालाई ठूलो धक्का दियो। करिब ९ हजारको ज्यान लिने र लाखौँलाई घरबारविहीन बनाउने उक्त भूकम्पले बुढानीलकण्ठका योजना, पूर्वाधार र प्रशासनिक संरचनालाई ठप्प पारिदियो।

                                                                                         “कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको तस्बिर।”

तर यही संकटबाट पाठ सिक्दै नगरपालिकाले पुनर्निर्माणसँगै योजनाबद्ध विकासको अवधारणा आत्मसात् गर्‍यो। प्रारम्भमा १७ वडा रहेको संरचनालाई १३ वडामा पुनःसंरचना गरियो। स्थायी र अस्थायी दुवै किसिमको ठूलो जनसंख्या रहेको यथार्थलाई ध्यानमा राख्दै पूर्वाधार, सेवा र शहरी सुविधा विस्तारका योजना अघि सारिए। हाल स्थायी र अस्थायी जनसंख्या जोड्दा नगरपालिकाको जनसंख्या करिब ४ लाख हाराहारी पुगेको छ।

आधारभूत पूर्वाधारमा उल्लेख्य फड्को

बुढानीलकण्ठ नगरपालिकाले आन्तरिक आयस्रोत विस्तार, संघ र प्रदेश सरकारको सहयोग तथा योजनाबद्ध कार्यान्वयनमार्फत् आधारभूत पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको छ। सडक निर्माण तथा बिस्तार, ढल निकास, पार्क विकास, सार्वजनिक स्थल स्तरोन्नति, विद्युत् प्रणाली सुधार, उज्यालो नगर कार्यक्रम, सडकबत्ती जडान, खानेपानी व्यवस्थापन र ‘मेयर सुरक्षित नगर’ जस्ता पहलले नगरको भौतिक स्वरूप क्रमशः परिवर्तन हुँदै गएको छ।

वडा कार्यालयहरूको भौतिक सुधारसँगै सेवा पहुँच विस्तार हुँदा स्थानीय सरकार र नागरिकबीच संवाद र विश्वास बलियो बन्दै गएको छ। पहाडी भूगोल र जटिल भौ–आकृतिका बाबजुद बुढानीलकण्ठ काठमाडौँ उपत्यकाभित्रकै गतिशील पूर्वाधार विकास क्षेत्रका रूपमा देखिन थालेको छ।

सामाजिक विकासमा समावेशी उपलब्धि

भौतिक पूर्वाधारसँगै नगरपालिकाले सामाजिक विकासलाई पनि समान प्राथमिकता दिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रमहरूले समावेशिता र अधिकार सुनिश्चित गर्न मद्दत गरेका छन्। सामाजिक सुरक्षा भत्ता वितरणको पारदर्शी प्रणाली, लैंगिक न्याय, बालमैत्री नगर अभियान, हिंसाविरुद्धका सचेतना कार्यक्रम तथा विद्यालयस्तरका स्वास्थ्य र पोषण कार्यक्रमले समुदायमा राज्यप्रतिको भरोसा बढाएको छ।

स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, मातृ–शिशु सेवा विस्तार, नि:शुल्क स्वास्थ्य शिविर, नियमित परीक्षण र विपद् तयारी तालिमले नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ।

सेवा, व्यापार र कृषि: आर्थिक विकासका आधार

बुढानीलकण्ठको  नगरपालिका आर्थिक संरचना मुख्यतः सेवामूलक व्यवसाय, व्यापार र परम्परागत कृषि–पशुपालनमा आधारित छ। होटल–रेस्टुरेन्ट, शिक्षा, स्वास्थ्य, आईटी, परामर्श सेवा लगायतका क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका छन्। साना तथा घरेलु उद्योग, हस्तकला, बेकरी, निर्माणसम्बन्धी उद्यम र होम–स्टे व्यवसायले स्थानीय रोजगारी सिर्जना गरेका छन्।

शहरीकरणका कारण कृषि भू–भाग घट्दै गए पनि दुग्ध व्यवसाय, बाख्रापालन, कुखुरापालन र मौरीपालन अझै पनि धेरै परिवारको मुख्य आयस्रोत बनेको छ। कृषिमा आधुनिकीकरण, जैविक खेती प्रवर्द्धन र सहकारीमार्फत बजार पहुँच विस्तारका प्रयासले कृषि क्षेत्र जोगाउने लक्ष्य राखिएको छ।

पर्यटन: उदीयमान आर्थिक स्तम्भ

बुढानीलकण्ठ नगरपालिकाको धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले पर्यटनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउँदै लगेका छन्। प्राचीन बुढानीलकण्ठ (नारायणथान) मन्दिर, शिबपुरी राष्ट्रिय निकुञ्ज, पदमार्ग, दृश्यावलोकन स्थल र साहसिक पर्यटनका सम्भावनाले नगरलाई राजधानी नजिकैको प्रमुख गन्तव्य बनाउने आधार तयार भएको छ।

यसलाई दीर्घकालीन रूपमा विकास गर्न नगरपालिकाले पर्यटन गुरुयोजना तयार गरेको छ भने नगरस्तरीय पर्यटन बोर्ड गठनको निर्णयले संस्थागत संरचना मजबुत बनाएको छ। होटल, होमस्टे, क्याफे, गाइड सेवा, पर्यटन सूचना केन्द्र, मार्ग संकेत बोर्ड र सरसफाइ व्यवस्थापनमा पनि क्रमशः सुधार हुँदै गएको छ।

चुनौती र दीर्घकालीन दृष्टि

तीव्र शहरीकरणका कारण खानेपानी, फोहोर व्यवस्थापन, तथ्याङ्क व्यवस्थापन र शहरी सेवामा चाप बढेको छ। फोहोर व्यवस्थापनलाई चुनौतीका रूपमा स्वीकार गर्दै नगरपालिकाले घरमै वर्गीकरण, पुनर्चक्रण र आधुनिक प्रविधिमा आधारित व्यवस्थापन प्रणाली लागू गर्ने प्रयास अघि बढाएको छ।

स्वच्छ, शान्त र समृद्ध बुढानीलकण्ठ’को संकल्प

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार जनसहभागिता, पारदर्शी योजना र कर्मचारीको इमान्दार प्रयासले ‘स्वच्छ, शान्त र समृद्ध बुढानीलकण्ठ’को नारा व्यवहारमा रूपान्तरण हुँदैछ। योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख अजित घिमिरेले भौतिक, सामाजिक, आर्थिक र पर्यावरणीय विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै बुढानीलकण्ठ  नगरपालिकालाई सुरक्षित, समृद्ध र पर्यटकीय शहर बनाउने लक्ष्यतर्फ नगरपालिका द्रुत गतिमा अघि बढिरहेको बताए।

समग्रमा, बुढानीलकण्ठ नगरपालिका अब बसोबासको स्थान मात्र नभई काठमाडौँको छेउमा अवस्थित सम्भावनायुक्त, जीवन्त र भविष्यतर्फ उन्मुख आधुनिक नगरका रूपमा आफ्नो पहिचान निर्माण गर्दै अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय