बुढानीलकण्ठ नगरपालिका–२, कालिका पार्कमा २०८२ मंसिर २५ गते, बिहीबार बिहान ७ बजेदेखि १२ बजेसम्म आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय तहको सेवा प्रवाह, नागरिक सरोकार तथा उत्तरदायित्वबारे प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले गरिएको कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।
कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत महेश प्रसाद पाठकले गरेका थिए भने नगर प्रमुख मिठाराम अधिकारीले अध्यक्षता ग्रहण गरेका थियो। कार्यक्रममा उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराई, तथा विभिन्न विषयगत समितिका संयोजकहरू—पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, विधायन, सामाजिक विकास, आर्थिक विकास, वन–वातावरण तथा विपद् व्यवस्थापन, लेखा समितिका संयोजकहरू लगायत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आसनग्रहण गरेका थिए।
राष्ट्रिय गान तथा ज्ञात–अज्ञात शहीदप्रति सम्मानसहित मौनधारण गरेर कार्यक्रमको औपचारिकता प्रारम्भ गरिएको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सेवा प्रवाह तथा प्रशासनिक पक्षका बारेमा विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक सुनुवाईको उद्देश्य र नागरिक सहभागिताको महत्त्वबारे जानकारी गरीएको थियो। सहजकर्तामार्फत कार्यक्रम अघि बढाइँदै सहभागीहरूलाई आचारसंहिता बारे जानकारी गराइएको थियो। त्यस्तै नागरिक प्रतिवेदन पत्र तथा बहिर्गमन अभिमत सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहभागीहरूले लिखित तथा मौखिक रूपमा उठाएका विविध प्रश्न, समस्या तथा सुझाव संकलन गरिएर एकमुष्ट रूपमा नगर प्रमुखद्वारा स्पष्ट पारिएको थियो।
सेवा प्रवाह, विकास निर्माण, सुशासन, सामाजिक उत्तरदायित्वदेखि लिएर वातावरण संरक्षण र बजेट कार्यान्वयनसम्मका विषयमा स्थानीयवासीहरूले उठाएका जिज्ञासा तथा सुझावलाई नगर प्रमुख मिथाराम अधिकारीले सम्बोधन गरेका थिए। थप जिज्ञासाहरू पनि सम्बोधन गर्दै पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा निरन्तर सुधारमा प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक सुनुवाईलाई नागरिक–नगरपालिका सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै सुझावहरूलाई आगामी योजनामा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै यससँगै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।






