बुढानीलकण्ठ नगरपालिकामा डिजिटल हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज बिहान ८ बजे गणेश चोकदेखि बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणसम्म सचेतनामूलक र्याली सम्पन्न भएको छ। र्यालीमा विभिन्न विद्यालय, संघ–संस्था तथा वडाका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराईलगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले डिजिटल हिंसा विरुद्धका सन्देश बोकेका प्लेकार्ड तथा नारामार्फत समुदायमा सचेतना फैलाएका थिए।
यस वर्षको १६ दिने अभियान “सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं” (Unite to End Digital Violence Against All Women and Girls) भन्ने नाराका साथ सञ्चालन गरिएको हो। अभियानको उद्देश्य डिजिटल माध्यमबाट हुने हिंसा, दुर्व्यवहार, साइबर बुलिङ, अनलाइन सुरक्षा, व्यक्तिगत सूचनाको दुरुपयोगको पहिचान तथा त्यसको न्यूनीकरणबारे समुदायमा व्यापक सचेतना विस्तार गर्नु रहेको छ।
कार्यक्रमको अन्त्यपछि बुढानीलकण्ठ नगरपालिकाको कार्यालय प्राङ्गणमा नगरपालिकाले विभिन्न विद्यालयलाई प्रदान गरेको कलाकारिता तथा सिर्जनात्मक शिक्षामा सहभागी विद्यार्थीहरूले डिजिटल हिंसाविरुद्ध केन्द्रित सडक नाटक प्रस्तुत गरेका थिए। उक्त नाटकमार्फत सुरक्षित डिजिटल व्यवहार, सचेत अनलाइन प्रयोग र हिंसा विरुद्ध आवाज उठाउने सन्देश प्रवाह गरिएको थियो। साथै, बाँसुरी खलले आफ्नो संगीतमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रम कवि गोष्ठी आयोजना गरी समापन गरिएको थियो। कवि गोष्ठीमा प्रस्तुत सिर्जनात्मक रचनाहरूले महिला तथा बालबालिकाविरुद्ध हुने डिजिटल हिंसाको विरोध र सम्मानजनक, सुरक्षित डिजिटल समाज निर्माणको सन्देश दिएको थियो। नगरपालिकाले यस्ता सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरूमार्फत डिजिटल हिंसा विरुद्ध समुदायलाई सशक्त बनाउँदै अभियानलाई निरन्तरता दिने जनाएको छ।






