बुढानीलकण्ठ नगर अस्पतालमा नयाँ प्रसुति सेवा सञ्चालनको औपचारिक उद्घाटन समारोह २०८२ मंसीर २२ गते सफलतापूर्वक सम्पन्न भएको छ। दिउँसो १२:०० बजे आयोजना गरिएको उक्त कार्यक्रममा नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष श्री मिठाराम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने बागमती प्रदेश सभासद माननीय अमन कुमार मास्के ज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा बागमती प्रदेशका माननीय माननीय मीना पराजुली विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष श्रीमती अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौला, संघ, प्रदेश तथा स्थानीय तहका स्वास्थ्यसम्बन्धी निकायका प्रतिनिधि, विभिन्न नगर अस्पतालका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्य अधिकारी, सञ्चारकर्मी तथा समाजिक संघ–संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुआत सबै आमन्त्रित अतिथिहरूको आसन ग्रहण र राष्ट्रिय गानबाट गरिएको थियो।
स्वागत मन्तव्य नगर उपप्रमुख श्रीमती अनिता लामाले राख्नु भएको थियो भने श्रीमती राधिका ढकालले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि माननीय अमन कुमार मास्के ज्यूले बुढानीलकण्ठ नगर अस्पतालमा नवप्रवर्तित प्रसुति सेवाको औपचारिक उद्घाटन गर्दै नगरवासीका लागि यो सेवा अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उद्घाटनपछि बुढानीलकण्ठ नगर अस्पतालको संक्षिप्त प्रस्तुति श्री गोपाल प्रसाद पोखरेलले दिनुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै माननीय श्रीमती मीना पराजुलीले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार हुनु सराहनीय कार्य भएको उल्लेख गर्दै प्रसुति सेवालाई निरन्तर सुधार र सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारसँग सहकार्य गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन मन्तव्य राख्दै कार्यक्रम अध्यक्ष तथा नगर प्रमुख श्री मिठाराम अधिकारीले बुढानीलकण्ठ नगर अस्पतालबाट आधुनिक, सुरक्षित र सर्वसुलभ प्रसुति सेवा सुरु हुनु नगरवासीका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले स्थानीय सरकार, केन्द्र सरकार र समुदायबीचको सहकार्यले मात्र दीगो र प्रभावकारी स्वास्थ्य सेवा सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
नयाँ प्रसुति सेवा सञ्चालनसँगै अब बुढानीलकण्ठ नगरपालिकाभित्रका गर्भवती महिला तथा सुत्केरी आमाहरूले आफ्नै नगर अस्पतालबाट गुणस्तरीय तथा सुरक्षित सेवा प्राप्त गर्ने विश्वास लिइएको छ। उक्त कार्यक्रम बुढानीलकण्ठ नगरपालिका तथा बुढानीलकण्ठ नगर अस्पताल सञ्चालन समितिको तर्फबाट आयोजना गरिएको हो।






