बुढानीलकण्ठ, काठमाडौँ — गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वर, काठमाडौँको च.नं. ९२, मिति २०८२।०८।१९ को पत्रानुसार बुढानीलकण्ठ नगरपालिकाभित्र प्रयोग भइरहेका ढक–तराजु तथा अन्य नापतौल यन्त्रहरूको स्ट्यान्डर्ड नापको अनुमति पत्र वितरण, जाँच, पुनःजाँच तथा अनुगमन कार्यका लागि घुम्ती डोर खटाइएको छ। यस कार्यक्रमअन्तर्गत नगर क्षेत्रभित्र पसल तथा व्यवसाय सञ्चालन गरिरहेका व्यापारी तथा व्यवसायीहरूले अनिवार्य रूपमा आफ्ना नापतौल यन्त्रहरूको जाँच तथा पुनःजाँच गराउनुपर्नेछ
।
नगरपालिकाले सम्बन्धित सबै व्यापारी तथा व्यवसायीहरूलाई आफूलाई पायक पर्ने तोकिएका मिति र स्थानमा कार्यालय समयभित्र उपस्थित भई ढक–तराजु जाँच तथा पुनःजाँच गराउन अनुरोध गरेको छ। नापतौल यन्त्रहरूको नियमित प्रमाणीकरणले उपभोक्ता हित संरक्षण, कारोबारमा पारदर्शिता तथा व्यापारिक अनुशासन कायम गर्न सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।
घुम्ती डोर २०८२।०८।२३ गते बुढानीलकण्ठ नारायणस्थान मन्दिर परिसरतर्फ खटिनेछ, जहाँ वडा नं. १, ३ र ५ का व्यवसायीहरूलाई सेवा दिइनेछ। त्यसैगरी २०८२।०८।२४ गते पशु क्वारेन्टाइन भवन, चपली घुम्तीमा वडा नं. २ र ४ का व्यवसायीहरूको ढक–तराजु जाँच गरिनेछ। २०८२।०८।२५ गते कपन ह्याण्डबल खेलमैदान, आकाशेधारामा वडा नं. ९, १०, ११ र १२ का लागि जाँच तथा पुनःजाँच कार्यक्रम सञ्चालन हुनेछ।
यसैक्रममा २०८२।०८।२६ गते वडा नं. १० को निर्माणाधीन वडा कार्यालय भवनमा वडा नं. १०, ११ र १२ का व्यवसायीहरूका लागि डोर खटाइनेछ। २०८२।०८।२८ गते बालुवाखानी चोकमा वडा नं. ८, ९, १० र ११ का व्यवसायीहरूको ढक–तराजु जाँच गरिनेछ भने २०८२।०८।२९ गते वडा कार्यालयको प्राङ्गण, चुनिखेलमा वडा नं. १३ का व्यवसायीहरूलाई सेवा प्रदान गरिनेछ।
त्यसैगरी २०८२।०९।०१ र ०२ गते बुढानीलकण्ठ नगरपालिका हात्तीगौडा, काठमाडौँस्थित प्राङ्गणमा वडा नं. ६, ७ र ८ का साथै तोकिएका मितिमा छुट हुन गएका सबै व्यवसायीहरूको ढक–तराजु जाँच, पुनःजाँच तथा अनुमति पत्र वितरणको व्यवस्था गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार माथि उल्लेखित वडागत मिति र स्थानमा उपस्थित हुन नसक्ने व्यवसायीहरूले आफूलाई पायक पर्ने अन्य स्थानमा उपस्थित भई समेत ढक–तराजु जाँच तथा पुनःजाँचको सेवा लिन सक्नेछन्। समयमै नापतौल जाँच गराई कानुनी मापदण्ड पालना गर्न सबै सम्बन्धित पक्षलाई नगरपालिकाले आग्रह गरेको छ।






