दोस्रो टिए.आई.ए. अन्तर्राष्ट्रिय अन्तर्विद्यालय बुद्धिचाल च्याम्पियनशिप २०२५ हिजोबाट औपचारिक रूपमा प्रारम्भ भएको छ। प्रतियोगिताको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले २०८२ साल पुष ३ गते विशेष समारोहबीच गरेका थिए।
उक्त प्रतियोगितामा भारत, बंगलादेश र श्रीलङ्का गरी तीन देशका २० जना अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन्। नेपालका ७ प्रदेश तथा २१ जिल्लाका विद्यार्थीहरूले समेत सक्रिय उपस्थिति जनाएका छन्। काठमाडौं उपत्यका बाहिरबाट मात्रै १२७ जना खेलाडी सहभागी भएका छन् भने यो संख्या मिलेर प्रतियोगितामा ५०० भन्दा बढी विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख लामाले यस्ता बौद्धिक प्रतियोगिताहरूले युवामा रणनीतिक सोच, संयमता र निर्णय क्षमतालाई मजबुत बनाउने उल्लेख गरिन्। “बुद्धिचालले विद्यार्थीसहित युवा पुस्तालाई अनुशासन, विश्लेषण क्षमता र मानसिक चनाखोपनतर्फ आकर्षित गर्छ। यसले उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउने ठूलो मञ्च प्रदान गर्छ,” उपप्रमुख लामाले भनिन्।
प्रतियोगिता स्विस प्रणाली (Swiss System) अन्तर्गत सञ्चालन भइरहेको छ, जसमा प्रत्येक प्रतिभागीले आफ्नो स्तरअनुसारका प्रतिस्पर्धीसँग धेरै चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यसले खेलकुदमा निष्पक्षता, समान अवसर र कौशल परीक्षणलाई सहज बनाउँछ।
आयोजक टिए.आई.ए.ले प्रतियोगितामार्फत विद्यार्थीहरूबीच राष्ट्रिय–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्ध, स्वस्थ प्रतिस्पर्धा र सीप आदानप्रदानको वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले नेपालमा बुद्धिचाल खेलको लोकप्रियता र गुणस्तरीय विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।






