बुढानीलकण्ठ, २०८२/०८/१०,  बुढानीलकण्ठ नगरपालिका वडा. न. ४ मा बिष्णुमती नदीमा नयाँ पुल निर्माणको कार्यको शुभारम्भ आज नगर प्रमुख मिठाराम अधिकारीले गरेका छन्। यस पुलले बुढानीलकण्ठ र टोखा नगरपालिकाबीचको यातायातलाई धेरै सहज बनाउने अपेक्षा छ।

Infrastructure Development Office, ललितपुरले आह्वान गरेको टेन्डर (NPT Ref No: 116430414) अन्तर्गत यो निर्माण कार्य अघि बढेको हो। यम वाइ कन्स्ट्रक्सन एण्ड बिल्डर्स, पर्वतले २ करोड ७ लाख ९० हजार ३ सय ६७ रुपैयाँमा यस परियोजनाको जिम्मेवारी प्राप्त गरेको छ। करिब ३ करोड रुपैयाँ लागत हुने अनुमानित यस पुलको लम्बाइ १२ मिटर र चौडाइ ८ मिटर रहनेछ। पुल निर्माणका साथै नदी प्रशोधन (रिभर ट्रेनिंग) लगायतका अन्य सम्बन्धित कार्यहरू पनि सम्पन्न गरिनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले पुल निर्माणपछि दुई नगरबीचको आवतजावत सहज हुने, व्यापारिक गतिविधि बढ्ने र आपतकालीन सेवाहरू सहजै पुग्ने विश्वास व्यक्त गरे। उनले निर्माण कार्य गुणस्तरीय र समयमै पूरा गरिने बाचा दिएका छन् र नगरपालिका कार्य प्रगतिको निरन्तर निगरानी गर्ने बताए।

कार्यक्रममा पूर्व माननीय प्रदिप पौडेल, पूर्व माननीय श्याम खड्का, पूर्व वडाध्यक्ष राजु खड्का, वडाध्यक्ष श्री राम के.सी., उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो पुल निर्माण भएपछि बुढानीलकण्ठ नगरपालिकाको वडा नं. ४ र टोखा नगरपालिकाका स्थानीय बासिन्दाहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय