मिति २०८२/०८/०९, मङ्गलबार बुढानिलकण्ठ नगरपालिकामा नगर प्रमुख मिठाराम अधिकारी तथा UNEP (United Nations Environment Programme) का प्रतिनिधिहरूको उपस्थितिमा वर्षा पानी संकलन (Rainwater Harvesting) लगायतका महत्वपूर्ण वातावरणीय विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।
छलफलमा नगर क्षेत्रमा उत्पन्न भइरहेको पानीको कमी, भू–उपयोगको दबाब, जलस्रोत संरक्षण तथा जलव्यवस्थापनका चुनौतीहरूबारे विस्तृत कुराकानी गरिएको थियो। विशेषगरी, शहरीकरण तीव्र गतिमा बढिरहेको बुढानिलकण्ठमा वर्षा पानी संकलन तथा पुनःप्रयोग प्रणालीलाई दिगो समाधानका रूपमा अवलम्बन गर्नु अत्यन्त आवश्यक रहेकोमा सहभागीहरू एकमत पाए।
UNEP का प्रतिनिधिहरूले वातावरणमैत्री अभ्यास, जलस्रोत संरक्षणका अन्तर्राष्ट्रिय उदाहरण, वर्षा पानीलाई घर–घरमा उपयोग गर्ने प्रविधि, विद्यालय तथा सार्वजनिक संरचनामा लागू गरिने मोडेल तथा सामुदायिक स्तरमा प्रभावकारी अभिमुखिकरण कार्यक्रमबारे सुझाव प्रस्तुत गरे।
नगर प्रमुख मिठाराम अधिकारीले जलस्रोत संरक्षण बुढानिलकण्ठ नगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दै, रेन हार्भेस्टिङ प्रणालीलाई विद्यालय, स्वास्थ्य संस्थान, सामुदायिक भवन तथा नयाँ निर्माणहरूमा अनिवार्य रूपमा लागू गर्ने तयारी भइरहेको जानकारी गराए।
कार्यक्रमले नगरमा दिगो जलव्यवस्थापन, जलस्रोत संरक्षण, वातावरणीय शिक्षा तथा समुदाय–केंद्रित कार्यक्रम सञ्चालनबारे दुवै संस्थाबीच सहकार्य सुदृढ गर्ने महत्वपूर्ण आधार तयार गरेको नगरपालिका जनाएको छ।






