बुढानीलकण्ठ नगरपालिका द्वारा कार्यान्वयन भईरहेको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE-I) अन्तर्गत हेल्भेटास बंगलादेश र नगरपालिकाबीच सिकाई आदान–प्रदान कार्यक्रम २०८२ मंसिर ९ गते सम्पन्न भएको छ। उप–मेयर अनिता लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परियोजनाको संक्षिप्त प्रगति, प्रदेश र स्थानीय सरकारबीचको साझेदारी अवधारणा, परियोजनाको संस्थागत रणनीति तथा भावी योजनाबारे शिक्षा, युवा तथा खेलकूद महाशाखाका प्रमुख ललित बिक्रम सिंहले विस्तृत रुपमा प्रस्तुत गरेका थिए।

स्थानीय तहमा संचालित परियोजनाहरूको प्रभावकारिता, दीगो रुपमा संस्थागत गर्ने रणनीति तथा प्रक्रिया, प्रदेश र स्थानीय सरकारबीचको साझेदारीको सफल अभ्यासबारे अन्तर–देशीय सिकाइ आदान–प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी टोलीलाई स्वागत गर्दै उप–मेयर अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाले परियोजनालाई पूर्ण रूपमा अपनत्व लिएर सञ्चालन गर्दै आएको तथा परियोजनाले सुरुआत गरेका कार्यक्रमहरूलाई नगरपालिकाको आन्तरिक स्रोतमार्फत निरन्तरता दिइरहेको जानकारी गराइन्।

कार्यक्रमका क्रममा हेल्भेटास बंगलादेशका वित्त अधिकृत बिशांक देवनाथले बुढानिलकण्ठ नगरपालिकाले परियोजनालाई संस्थागत गर्ने प्रक्रियामा देखाएको सक्रियता, पारदर्शिता, परियोजनाप्रतिको अपनत्व र दिगो कार्यक्रम विकासको अभ्यास उदाहरणीय रहेको उल्लेख गरे। उनले नेपालमा देखिएको यो सफल कार्यानुभव बंगलादेशका लागि पनि अत्यन्त उपयोगी सिकाइ हुने टिप्पणी गर्दै कार्यक्रमप्रति आभार व्यक्त गरे।

सिकाई आदान–प्रदानले दुवै पक्षबीच परियोजना व्यवस्थापन, साझेदारी निर्माण, दिगोपनका रणनीति र व्यावहारिक कार्यानुभूतिको साझा बुझाइमा महत्वपूर्ण योगदान पुर्‍याएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय