बुढानिलकण्ठ नगरपालिका, मंसिर ४ – बुढानिलकण्ठ नगर अस्पतालको आयोजनामा तथा स्वास्थ्य बीमा बोर्डको सहकार्यमा नगर अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सकहरूलाई लक्षित बीमा सम्बन्धी तालिम तथा अभिमुखिकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, नगर उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा न. १० वडाध्यक्ष नवराज भट्टराई, स्वास्थ्य बीमा बोर्डका प्रमुख प्रशिक्षक डा. दिपक प्रधानको विशेष उपस्थिति रहेको थियो।
यस कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य बीमाको महत्व, कार्यप्रणाली, दाबी प्रक्रिया, कार्यान्वयनका चरणहरू तथा सेवा पहुँच विस्तारका उपायहरूबारे विस्तृत प्राविधिक जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको सहजिकरण डा. दिपक प्रधान तथा बुढानिलकण्ठ नगर अस्पतालका बीमा फोकल पर्सन सरोज श्रेष्ठले गरेका थिए।
कार्यक्रमका वक्ताहरूले स्वास्थ्य बीमाले नागरिकलाई उपलब्ध गराउने सेवा–सुविधा, गुणस्तरीय उपचार पहुँच र बीमामा प्रभावकारी सहभागिताका लागि आवश्यक तयारीबारे सुझाव प्रस्तुत गरे।
स्वास्थ्य बीमा बोर्डका डा. दिपक प्रधानले हालसम्मका अनुगमन तथा प्रशिक्षण अवधिमा बुढानिलकण्ठ नगर अस्पतालले सेवा प्रवाह र दाबी प्रक्रियामा उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे। उनले यस कार्यक्रमले बीमा सेवासम्बन्धी अन्योलता हटाई बिरामीलाई थप सहज सेवा प्रदान गर्ने क्षमताको अभिवृद्धिमा योगदान पुर्याएको बताए।






