बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा बालबालिकामैत्री वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले ‘कोपिलाका कुरा’ कार्यक्रम सुरु गरिएको छ। असार ४ गतेदेखि सुरु भएको कार्यक्रमको पहिलो चरण श्री बालउद्दार माध्यमिक विद्यालयबाट प्रारम्भ भएको हो।

मुल उद्देश्य; बालबालिका सँग जनप्रतिनिधि  रहेको कार्यक्रममा जनप्रतिनिधिहरू र बालबालिकाबीच अन्तरक्रिया, साङ्गीतिक प्रस्तुती, लागूऔषध दुर्व्यसनविरुद्धको नाटक, र IQ QUIZ प्रतियोगिता जस्ता आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। विजेताहरुलाई आकर्षक उपहार पनि प्रदान गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा वडा अध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरू चन्द्रमान श्रेष्ठ, दिलकुमारी बिक, वडा सचिव भोला ढुङ्गाना, विद्यालय व्यस्थापन समिति अध्यक्ष ध्रुव प्रसाद घिमिरे तथा विद्यालयका प्रधानाध्यापक विनोद पण्डित लगायत शिक्षकमण्डलीको उपस्थिति थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। ‘कोपिलाका कुरा’ कार्यक्रम बुढानीलकण्ठ-१० का विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा क्रमशः संचालन गरिने वडा अध्यक्षले जानकारी दिनुभएको छ।

वडा अध्यक्ष नवराज भट्टराईले कार्यक्रममा सम्बोधन गर्दै  भन्नुभयो-“बालबालिका हाम्रो भविष्य हुन्। उनीहरूको आवाज सुन्ने र सकारात्मक विकासमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। कोपिलाले बोल्न थालेपछि समाजले सुन्नुपर्छ भन्ने हाम्रो सन्देश हो।”

बालबालिकासँगको अन्तरक्रियामा विद्यालयमा सुरक्षित वातावरणको सुनिश्चितता, लैङ्गिक हिंसा र साइबर सुरक्षाजस्ता संवेदनशील विषयमा विद्यार्थीहरूले खुलस्त आफ्नो धारणा व्यक्त गरे। लागुऔषधको प्रयोगले किशोर अवस्था र भविष्यमा पार्न सक्ने गम्भीर असरबारे जानकारीमूलक प्रस्तुति र छलफल गरियो। त्यसैगरी, अनलाइन शिक्षामा सबैको पहुँच नहुँदा देखिने असमानता र डिजिटल शिक्षामा आवश्यक सुविधा अभावका कारण उत्पन्न चुनौतीबारे पनि विद्यार्थीहरूले प्रश्न उठाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय