बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखा तथा पशु सेवा शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिका क्षेत्रभित्र कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कृषक समूह तथा व्यक्तिगत कृषकहरूलाई तीन फरक विधामा वर्गीकरण गरी सम्मान तथा नगद पुरस्कार वितरण गरिएको थियो। कौसी खेती (सामूहिक तर्फ) अन्तर्गत पञ्चकन्या कौसी खेती कृषक समूह (अध्यक्ष टंक प्रसाद सिवाकोटी) प्रथम, हाम्रो कौसी राम्रो कौसी कृषि समूह (अध्यक्ष पुष्पा खड्का) द्वितीय र पवित्र कृषि तथा करेसाबारी कृषि समूह (अध्यक्ष कमला शिवाकोटी) तृतीय भएका थिए। यसैगरी मूल्याङ्कनमा सहभागी जगन्नाथ महिला कृषि समूह (अध्यक्ष कमला चन्द) र नवदुर्गा कौसी खेती समूह (अध्यक्ष पविना सापकोटा) समेतले कार्यक्रममा सहभागिता जनाएका थिए।
व्यावसायिक तरकारी खेती विधाअन्तर्गत जोसिका कृषि फार्मकी उर्मिला राई प्रथम, सोरलुङ कृषि फार्मका नवराज राई द्वितीय र सुष्मा कृषि फार्मकी मिना कुमारी तामाङ तृतीय भएका थिए। यस विधामा रश्मी कृषि फार्म (रामी माया राई), राफल लकाई गाई फार्म (शान्ता कुमारी लकाई), ओमिका कृषि फार्म (ओम कुमारी वाईबा गुरुङ), सिद्ध एग्रो फार्म (शेर बहादुर कार्की) र संघर्षशील कृषि उद्यमी महिला समूह (सुनमाया लिम्बु) समेतले मूल्याङ्कनमा सहभागिता जनाएका थिए। कौसी खेती (व्यक्तिगत तर्फ) अन्तर्गत गणेश बहादुर बराल प्रथम, जित बहादुर तामाङ द्वितीय र ललिता देवी गुरुङ तृतीय भएका थिए। यस विधामा यशोदा गिरी र साइली माया लिम्बुनी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र सुशासन समितिका संयोजक शम्भु भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले उत्कृष्ट कृषकहरूलाई शुभकामना दिँदै कृषि क्षेत्रलाई थप व्यवसायीकरण गर्दै किसानहरूको आर्थिक उन्नतिमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएका थिए। स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर निर्माणको परिकल्पनासहित अघि बढेको बुढानीलकण्ठ नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखी आगामी दिनमा पनि यस्तै प्रकृतिका सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको थियो।





