बुढानीलकण्ठ नगरपालिकामा मेलमिलापसम्बन्धी प्रशिक्षकको प्रशिक्षण तालिम (TOT) सफलतापूर्वक शुभारम्भ भएको छ। ८ दिनसम्म सञ्चालन गरिएको यो तालिम २०८२ साल चैत्र १९ गतेदेखि २६ गतेसम्म आयोजना गरिएको छ।
नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न उक्त तालिममा २४ जना सहभागी रहेका थिए, जसमा मेलमिलापकर्ता तथा न्यायिक समितिमा कार्यरत कर्मचारीहरू सहभागी थिए।बुढानीलकण्ठ नगरपालिका (न्यायिक समिति)को आयोजना र राष्ट्र निर्माण मञ्च, नेपालद्वारा सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तालिमको मुख्य उद्देश्य भविष्यमा नगरपालिकाबाट सञ्चालन हुने मेलमिलापसम्बन्धी कार्यक्रमहरूका लागि दक्ष प्रशिक्षक तयार पार्नुका साथै मेलमिलापकर्ताहरूको कार्यक्षमता र गुणस्तरमा सुधार ल्याउनु रहेको थियो। सहभागीहरूले तालिम अवधिभर विभिन्न अभ्यास, छलफल र अनुभव आदानप्रदानमार्फत मेलमिलाप प्रक्रियाका सूक्ष्म पक्षहरूबारे गहिरो समझ हासिल गरेका थिए।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको उपस्थिति रहेको थियो। मेलमिलापको माध्यमबाट समाजमा देखिने विवादहरूलाई सहज, छिटो र प्रभावकारी रूपमा समाधान गर्न सकिने बताउँदै यस्ता तालिमहरूलाई अझ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यस तालिमले स्थानीय तहमा न्यायिक प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ भने सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।






