बुढानीलकण्ठ नगरपालिका भित्र बग्ने रुद्रमति–धोविखोला सरसफाई कार्यक्रम मिति २०८२ माघ १५ गतेदेखि फाल्गुण १४ गतेसम्म सञ्चालन गरी सम्पन्न गरिएको छ। नगरपालिकाको वातावरण शाखाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा दैनिक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ६० जना सरसफाईकर्मीहरू खटिएका थिए। सरसफाई कार्यलाई प्रभावकारी बनाउन उनीहरूलाई ५ वटा समूहमा विभाजन गरी परिचालन गरिएको थियो।उक्त सरसफाई कार्यक्रम वडा नं. १३ चुनिखेलदेखि साततल्लेसम्म बुढानीलकण्ठ नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने रुद्रमति–धोविखोलाको भागमा सञ्चालन गरिएको थियो। कार्यक्रमका क्रममा नदी किनार तथा आसपास क्षेत्रमा जम्मा भएको फोहोर व्यवस्थापन गर्नुका साथै नदी तथा करिडोरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्य गरिएको थियो।
आज मिति २०८२ फाल्र्गुण २९ गते रुद्रमति धोविखोला सरसफाईका क्रममा सरसफाईकर्मीहरूले आफूहरूले भोगेका विभिन्न समस्याहरू उठान गर्नुका साथै नगरलाई सफा राख्न नगरबासीहरूलाई आग्रह गर्दै सन्देशमूलक र्याली समेत आयोजना गरेका थिए। र्यालीका क्रममा “हामीले सरसफाई गर्यौं, कृपया तपाईंहरू फोहोर नगर्नुहोस्”, “हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ” तथा “आहा बुढानीलकण्ठ” जस्ता नाराहरू लगाई नगरबासीहरूलाई सरसफाई तथा नदी संरक्षणका लागि सचेत गराइएको थियो।यस अवसरमा नगर प्रमुख मिठाराम अधिकारीले नदी हाम्रो सभ्यता र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। साथै सरसफाई अभियानमा खटिएका सरसफाईकर्मीहरूको योगदानको प्रशंसा गर्दै भविष्यमा व्यवसाय सञ्चालन गर्न इच्छुक सरसफाईकर्मीहरूका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा निर्माणको अन्तिम चरणमा रहेको तरकारी बजारमा आवश्यक स्थान उपलब्ध गराउन सहजिकरण गरिदिने जानकारी दिएका थिए।
त्यसैगरी नगर प्रवक्ता नवराज भट्टराईका अनुसार २०७९ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको धोविखोला सरसफाई अभियानले करिडोरलाई क्रमशः सफा, सुन्दर तथा हरियाली बनाउँदै लैजान महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नगरपालिकाले आगामी दिनहरूमा पनि नदी संरक्षण, सरसफाई तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने तथा नदी संरक्षण र सरसफाई अभियानलाई दिगो बनाउन समुदायको सहभागिता अत्यन्त आवश्यक रहेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले बताए।
सरसफाई अभियानमा सहभागी सरसफाईकर्मीहरूको STD तथा रगत परीक्षण हाल बुढानीलकण्ठ नगर अस्पताल मार्फत सञ्चालन भइरहेको जानकारी पनि दिइएको छ।






