बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा २ दिने निःशुल्क आयुर्वेदिक विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर फागुन ५ गते बुढानीलकण्ठ नगरपालिका–४ मा तथा फागुन ११ गते बुढानीलकण्ठ नगरपालिका–१०, कपन ह्याण्डबलमा आयोजना गरिएको थियो। 
शिविरमा विशेषज्ञ आयुर्वेद चिकित्सकहरूद्वारा पाइल्स, फिस्टुला लगायत विभिन्न रोगहरूको परीक्षण तथा निदान गरिएको थियो। साथै, सेवाग्राहीहरूलाई निःशुल्क आयुर्वेद औषधि वितरण गरिएको थियो। शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई थप उपचारका लागि केन्द्रीय आयुर्वेद अस्पताल मा रिफर गरिएको जनाइएको छ। दुवै स्थानमा सम्पन्न शिविरमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा सम्बन्धित वडा अध्यक्ष एवं सदस्यहरूको उपस्थिती र समन्वय रहेको थियो।
शिविर अन्तर्गत वडा नं. ४ मा १०७ जना र वडा नं. १० मा १२९ जना गरी कुल २३६ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको जनस्वास्थ्य महाशाखाले जनाएको छ। स्थानीय नागरिकहरूलाई आफ्नै वडामा विशेषज्ञ सेवा उपलब्ध गराएर स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता जनहितकारी स्वास्थ्य कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






