काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा समूह, संस्था तथा विभिन्न समितिका पदाधिकारीहरूका लागि आयोजित तीन दिने अनुशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ साल माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागीहरूलाई नेतृत्व विकास, समूह व्यवस्थापन, लेखा प्रणाली, सामाजिक सुरक्षा तथा स्थानीय तहबाट हुने सेवा प्रवाहसम्बन्धी जानकारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको पहिलो दिन तालिमको उद्देश्यबारे जानकारी दिँदै समूह गतिशीलता, नेतृत्व तथा अनुशासन, बैठक सञ्चालन प्रक्रिया र निर्णय लेखनका विषयमा प्रशिक्षण दिइएको थियो। साथै बचत तथा बचत परिचालनसम्बन्धी सत्रमार्फत सहभागीहरूलाई वित्तीय अनुशासनका बारेमा समेत सचेत गराइएको थियो।
दोस्रो दिन अघिल्लो दिनको पुनरावलोकनसँगै विविध कोष सम्बन्धी जानकारी, समूहमा लेखा व्यवस्थापन, महिला अधिकारसम्बन्धी कानुनी प्रावधान तथा न्यायिक समितिको भूमिकाबारे सहजीकरण गरिएको थियो। यसैगरी प्रजनन स्वास्थ्य तथा सेवा प्रवाहसम्बन्धी जानकारीमूलक प्रस्तुति पनि समावेश गरिएको आयोजकले जनाएको छ।
तेस्रो तथा अन्तिम दिन व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, नगरपालिकाबाट हुने सेवा प्रवाह, योजना तथा योजना प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। लैङ्गिक हिंसा तथा घरेलु हिंसा निवारणमा समूहको भूमिकाबारे पनि विशेष छलफल गरिएको थियो।
समापन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको उपस्थिति रहेको थियो। कार्यक्रममा तालिमले स्थानीय स्तरमा सक्षम नेतृत्व विकास, सामाजिक सशक्तीकरण तथा प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।






