बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योग/व्यवसायका संचालक तथा प्रतिनिधिहरूका लागि करदाता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगरपालिका सभाहलमा आयोजित उक्त कार्यक्रम राजस्व व्यवस्थापन शाखा, बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कर सम्बन्धी आधारभूत जानकारी, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया, साथै सामाजिक सुरक्षा सम्बन्धी विषयहरूबारे प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। स्थानीय व्यवसायलाई कानुनी दायरामा ल्याउँदै कर प्रणालीप्रति सचेतना बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रशासनिक अधिकृत महेश पाठकको उपस्थिति रहेको थियो। नगर प्रमुख अधिकारीले व्यवसायीहरूलाई समयमै दर्ता, नवीकरण तथा कर तिर्न आग्रह गर्दै स्थानीय विकासमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले यस्ता प्रशिक्षणले व्यवसाय सञ्चालनलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताए।
त्यस्तै उप–प्रमुख अनिता लामाले सामाजिक सुरक्षामा आबद्ध हुनु व्यवसायी र श्रमिक दुवैका लागि लाभदायक रहेको बताउँदै नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने धारणा व्यक्त गरिन्। प्रशासनिक अधिकृत महेश पाठकले व्यवसाय दर्ता तथा राजस्व सम्बन्धी सेवा प्रक्रियालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए। कार्यक्रममा सहभागी व्यवसायीहरूले कर तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवहारिक जानकारी प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका थिए।






