बुढानीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा श्रमको सम्मान, राष्ट्रको अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगारीका क्षेत्रमा न्यूनतम मानवीय मर्यादालाई कायम राख्न काम र श्रमिकप्रतिको धारणामा व्यवहारिक परिवर्त ल्याउने उद्देश्यका साथ वडा स्तरमानै गएर सञ्चालन गरिएको उक्त कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा बेरोजगार, रोजगार, श्रम, मर्यादित श्रम, श्रमका सम्बन्धमा बुढानीलकण्ठ नगरपालिकाको प्रयास, श्रमको सम्मान, राष्ट्रको अभियान रणनीति-२०७८ लगायत श्रमको सम्मान सम्बन्धी विविध विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको छ । त्यस्तै सहभागीहरुका अनुभव समेत सुनी उहाँहरुको जिज्ञासालाई पनि समाधान गर्ने प्रयास गरिएको छ भने काम सानो ठूलो नहुने हुँदा आफ्नो काम प्रतिको अपमान नसहने र कसैलाई पनि कामको आधारमा अपमान नगर्ने विषयमा प्रतिबद्धता समेत जनाइएको छ ।
नगरपालिकाभित्रका वडाहरुमा श्रमिक, बेरोजगार, युवा लगायतका सरोकारवालाहरुसँग फरक-फरक मितिमा आयोजना गरिएको उक्त १ दिने अभिमुखीकरण कार्यक्रम आज सञ्चालन गरिएको वडा नं. २ को कार्यक्रमसँगै सम्पन्न भएको हो । नगरपालिकाभित्रका १३ वटा वडाहरुमध्ये ३ वटा वडामा गत आ. व. मा र बाँकी रहेका १० वटा वडामा यस आ. व. मा सञ्चालन गरिएसँगै सबै वडाहरुमा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरमा नै गएर कार्यक्रम सञ्चालन गरिएको हुँदा लक्षित वर्गको पहुँच समेत कार्यक्रममा पुगेको देखिन्छ ।






