काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूलाई लक्षित गर्दै सहकारी नियमन, सूचना प्रवाह तथा लेखाप्रणालीसम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। बुढानीलकण्ठ नगरपालिकाको सभाहल, हात्तीगौंडामा मिति २०८२ माघ ११ र १२ गते सञ्चालन हुने दुईदिने उक्त कार्यक्रमको शुभारम्भ आइतबार गरिएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सहकारी क्षेत्रलाई पारदर्शी, अनुशासित र उत्तरदायी बनाउनु वर्तमान आवश्यकता भएको बताउए। सहकारी संस्थाहरूले कानुनी मापदण्ड, वित्तीय अनुशासन र सूचना प्रवाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

 नगरपालिकाले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन निरन्तर सहजीकरण, अनुगमन र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै “सहकारी जनताको बचतसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन पारदर्शी र जिम्मेवार हुन आवश्यक छ,” बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको भनाइ थियो।

उक्त प्रशिक्षण कार्यक्रम बुढानीलकण्ठ नगर सहकारी समन्वय समितिको समन्वयमा तथा सहकारी शाखा, बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। कार्यक्रममा नगरपालिकाभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा सहकारी ऐन तथा नियमावली, सहकारी नियमन प्रणाली, सूचना प्रवाहको महत्व, लेखाप्रणाली, वित्तीय प्रतिवेदन, आन्तरिक नियन्त्रण प्रणाली तथा लेखा परीक्षणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले यो कार्यक्रममार्फत सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र व्यवस्थित रूपमा सञ्चालन, सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय