काठमाडौं । बुढानीलकण्ठ सडक खाजा महोत्सव पौष २५ देखि २७ गतेसम्म भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० वटा स्टलमार्फत रैथाने तथा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध खाजाहरू प्रस्तुत गरिएका थिए। महोत्सव अवधिभर जनसमुदायको उल्लेखनीय उपस्थिति र चहलपहल देखिएको थियो।

महोत्सवलाई सफल बनाउन बुढानीलकण्ठको पर्यटन व्यवसायका गौरवका रूपमा स्थापित लेमन ट्री, होलिडे इन, पार्क भिलेज, ग्रिन भ्याली रिसोर्ट र रोयल भिल्ला जस्ता प्रतिष्ठित होटलहरूको सहकार्य रहेको थियो। यस्ता प्रतिष्ठानहरूको सहभागिताले कार्यक्रमको स्तर, व्यवस्थापन र आकर्षणलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र संयमित बनाउन बुढानीलकण्ठ नगर प्रहरी, बुढानीलकण्ठ नगर स्काउट तथा स्वयंसेवक टोलीले अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेका थिए। साथै, यातायात व्यवस्थापनका लागि बुढानीलकण्ठ यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको निरन्तर मेहनतले महोत्सव सञ्चालनमा सहजता आएको थियो।

महोत्सवमा स्टल सञ्चालन गरेका दाजुभाइ तथा दिदीबहिनीहरूले प्राप्त गरेको व्यावसायिक लाभलाई आयोजकले अमूल्य उपलब्धिका रूपमा उल्लेख गरेका छन्। यसले स्थानीय उद्यमशीलता प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

महोत्सवको समापन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरू तथा विभिन्न स्थानबाट आएका नागरिक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि, महोत्सवको उद्घाटन कार्यक्रम पहिलो दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा समापनको औपचारिक घोषणा गर्दै सामूहिक फोटोसेसन गरिएको थियो। बुढानीलकण्ठ सडक खाजा महोत्सवले स्थानीय परिकारको प्रवर्द्धन गर्दै संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय