बुढानीलकण्ठ नगरपालिकाबाट मानव सेवा आश्रमलाई खाद्य सहयोग, सडक आश्रित मानवको संरक्षणमा निरन्तर सहकार्य

बुढानीलकण्ठ नगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवहरूको संरक्षण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको मानव सेवा आश्रमलाई यस वर्ष पनि खाद्य सामग्री सहयोग उपलब्ध गराएको छ। नगरपालिकाले करिब ७ लाख रुपैयाँ बराबरको खाद्य सामग्री आश्रमको रानीवनस्थित शाखामा हस्तान्तरण गरेको थियो।

देशका विभिन्न स्थानबाट उद्धार गरिएका बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको संरक्षण, हेरचाह र पुनःस्थापनामा संलग्न आश्रमसँग बुढानीलकण्ठ नगरपालिकाको सहकार्य निरन्तर रहँदै आएको छ। विशेषगरी २०८० सालमा “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बुढानीलकण्ठ नगरपालिका” घोषणा गरेपछि यो सहकार्य अझ प्रभावकारी बनेको देखिन्छ।

हाल नगरपालिकाभित्र भेटिने सडक आश्रित तथा बेसहारा व्यक्तिहरूलाई मानव सेवा आश्रमले उद्धार गर्ने, उनीहरूको परिवार खोजी गरी पुनर्मिलन गराउने र आवश्यक परे आश्रममै राखेर संरक्षण गर्ने काम गरिरहेको छ। यस अभियानमा नगरपालिकाले हरेक वर्ष आवश्यक सहयोग गर्दै आएको छ। खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा सहभागीतामा आश्रममा रहेका व्यक्तिहरूको अवस्था बारे जानकारी लिनुका साथै नगरपालिकाबाट उद्धार गरिएकाहरूको हालको स्थितिको बारे जानकारी लिएका थिए।

नगरपालिकाले आफ्ना क्षेत्रभित्र कसैले सडक आश्रित वा बेसहारा मानव देखेमा तत्काल मानव सेवा आश्रम, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ। उद्धार तथा सहयोगका लागि आश्रमका सम्पर्क नम्बर ९८५–५०७६०१४ र ९७६५५६१३७२ उपलब्ध गराइएको छ। मानव सेवा आश्रम र बुढानीलकण्ठ नगरपालिकाबीचको सहकार्यले धेरैको जीवनमा नयाँ आशा र सहारा दिइरहेको छ।

ताजा समाचार

लोकप्रिय