काठमाडौँ, २६ मार्च २०२६ बुढानीलकण्ठ नगरपालिकामा “स्ट्रोक तथा मिर्गी (छारे रोग) सचेतना कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ। विश्व एपिलेप्सी दिवसको अवसर पारेर नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र एपिलेप्सी फाउन्डेसन नेपालले बुढानीलकण्ठ नगरपालिकासँगको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियो।
अभिमुखीकरण तथा चेतना अभिवृद्धि
विशेष गरी महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ कर्मचारी, विद्यालयका स्वास्थ्य नर्स र नगरपालिकाका प्रशासनिक कर्मचारीहरूलाई लक्षित गरी मिर्गी रोगसम्बन्धी विशेष अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो। सोही अवसरमा स्ट्रोक (मस्तिष्कघात) का बारेमा पनि व्यापक जानकारी प्रदान गरिएको थियो। “हरेक सेकेन्ड महत्वपूर्ण हुन्छ” भन्ने मुख्य सन्देशका साथ स्ट्रोक भएमा तत्काल अपनाउनुपर्ने सावधानी र उपचारका बारेमा सहभागीहरूलाई प्रशिक्षित गरिएको थियो।
प्रमुख अतिथि र विशिष्ट उपस्थिति
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिथाराम अधिकारीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, उप-प्रमुख अनिता लामा, अजय बर्तौला र कुमार प्रसाद दाहाल विशेष अतिथिका रूपमा सहभागी भई कार्यक्रमको गरिमा बढेको थियो।कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएसनका तर्फबाट निम्न विज्ञहरूले सहजीकरण तथा प्रतिनिधित्व गर्नुभएको थियो:
-
नुमा शर्मा (एकेडेमिक कोअर्डिनेटर)
-
डा. रचना नाकर्मी (प्रोजेक्ट म्यानेजर – NSA तथा NSP)
-
डा. अभिषेक मान श्रेष्ठ (सचिव, NSA)
-
डा. राम प्रसाद सुबेदी (सदस्य, NSA)
कुल १०५ जनाको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी रहेको आयोजकले जनाएका छन्। जनचेतना फैलाउन र स्वास्थ्यकर्मीहरूलाई रोगको पहिचान तथा व्यवस्थापनमा दक्ष बनाउन यो कार्यक्रम सफल सावित भएको छ। नगरपालिका र स्वास्थ्य संस्थाहरूको यो संयुक्त प्रयासले भविष्यमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।







