बुढानीलकण्ठ, पौष १२ गते । बूढानीलकण्ठ नगरपालिकामा पौष १४ गतेदेखि नगरपालिका स्तरीय “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” संचालन हुन लागेको छ । प्रतियाेगितामा नगरपालिका स्थित १२ वटा सामुदायिक र २८ वटा संस्थागत गरि ४० वटा माद्यमिक विद्यालयहरू सहभागी हुनेछन् ।
आज आयोजक समितिको वैठक मार्फत प्रतियाेगिताकाे पूर्ण रुपमा तयारी भईसकेको र पौष १४ गते बिहान ८ बजेबाट सबै खेलहरु क्रमश सञ्चालन हुने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएको छ । आयोजकका अनुसार खेलहरु पौष १४, पौष १६ र पौष १७ गते संचालन हुनेछन् ।
यस प्रतियाेगितामा समावेश गरिएका खेलहरूमा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), दौडतर्फ ट्रयाक दौड र रिले दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ , र मार्सल आर्ट तर्फ तेक्वान्दो रहेका छन् ।
जसअन्तर्गत १४९३ जना विद्यार्थीहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाउने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो । सबै प्रकारका खेलहरु वडा नं ०५ स्थित बुढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ठ विद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार जगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।
साथै समावेश भएका हरेक खेल पश्चात उक्त खेलमा प्रथम, चौथो र तेस्रो हुनेलाई सोहि स्थानमै मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने भएकोले विद्यार्थिका अभिभावकहरु र नगरपालिकामा बसोबास गर्नुहुने सबैलाई खेलहरु अवलोकन गर्न आउनुहुन आयोजकले निमन्त्रणा गरेको छ ।